
गृहमन्त्री बालकृष्ण खाँणले संसदमा पेश गरिएको ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९’ लाई पारित गर्न सहयोग गर्न सांसदहरुलाई आग्रह गर्नु भएको छ ।
लाखौं नेपाली नागरिकलाई नागरिकता पाउने अधिकारबाट बञ्चित हुन नदिन सरकारले संविधान अनुसार सो विधेयक ल्याएको उल्लेख गर्दै त्यसलाई पारित गर्न सहयोग गर्न उहाँले सांसदहरुलाई अनुरोध गर्नु भएको हो ।
बुधबार प्रतिनिधिसभा बैठकमा सो विधेयक मुलुकको सार्वभौमिकता प्रतिकूल रहेको भन्दै सांसदहरु डा. भीमबहादुर रावल, शेरबहादुर तामाङ र प्रेम सुवालले विरोधको सूचना पेश गरेका थिए ।
मन्त्री खाँणले संविधानको प्रावधान अनुसार अघि बढाएको सो विधेयक सबै नेपाली नागरिकलाई नागरिकता लिने गरी ल्याएकाले पारित गरेर अघि बढ्नुको विकल्प नरहेको पटकपटक दोहोर्याउनुभयो ।
गृहमन्त्री खाँणले संविधानमा कुनै पनि नेपाली नागरिकलाई नागरिकताबाट बञ्चित गराउन नमिल्ने व्यवस्था गरेको उल्लेख गर्दै सोही अनुसार सो विधेयक सरकारले ल्याएको बताउनुभयो ।
उहाँले भन्नु भयो, ‘संविधानको प्रावधान अनुसारनै सरकारले यो विधेयकलाई अघि बढाएको हो । त्यसकारण सरकारको नेपाल नागरिकता पहिलो संशोधन विधेयक–२०७९ लाई अगाडि बढाएर यसलाई पास गर्न सकियोस् । र, पारित विधेयकलाई हामीले ऐन बनाउन सकौं ।
नागरिकता प्रदान गर्ने कामलाई हामीले अगाडि बढाउन सकियोस् उद्देश्यका साथ नै ल्याइएको कारणले म माननीयज्यूहरुलाई आफ्नो विरोधको सूचना फिर्ता गरेर त्यो नागरिकता विधेयकलाई अघि बढाउने र पास गर्ने क्रममा सहयोग पुर्याउन हार्दिक आग्रह गर्न चाहन्छु ।’
मन्त्री खाँणले आफ्नो विरोधको सूचना फिर्ता गरेर पनि सो विधेयकलाई संसदबाट पारित गराउन सांसदहरुले सहयोग गर्ने बिश्वास समेत व्यक्त गर्नुभयो ।