
नेपालमा चिकित्सा शिक्षा अध्ययन गरेका विदेशीले पनि चिकित्सक लाइसेन्स परीक्षामा सहभागी हुन पाउने भएका छन् ।
नेपाल मेडिकल काउन्सिलले नियमावली नै संशोधन गरेर मेडिकल र डेन्टलमा स्नातक उर्तिण विदेशी विद्यार्थीका लागि पहिलो पटक लाइसेन्स परीक्षा दिन पाउने व्यवस्था गरेको हो ।
तर नेपालका चिकित्सकले भने स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा विदेशीलाई लाइसेन्स परीक्षामा सहभागी गराएर सिधै बिरामी जाँच्न पाउने व्यवस्थाप्रति आपत्ति जनाएका छन् ।
नेपालका २२ वटा मेडिकल कलेजमा एमबीबीएस र बीडिएस अध्ययनका लागि वर्षेनी साढे दुई सय विदेशी विद्यार्थी आउँछन् । ती मध्ये ९५ प्रतिशत भारतीय छन् ।
अध्ययन सकिएपछि आफ्नै मुलुक फर्केर लाइसेन्स परीक्षामा सहभागी हुने चलन छ । तर मेडिकल काउन्सिलले नेपालमा अध्ययन पुरा गरेका विदेशी विद्यार्थी पनि चिकित्सक लाइसेन्स परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको छ ।
मेडिकल काउन्सिल र भारतीय आयुविज्ञान परिषद्बीच तीन वर्षअघि भएको समझदारीका आधारमा काउन्सिलले नियमावली संशोधन गरेको हो ।
सामान्यत: काउन्सिलले लिने चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा उत्तीर्ण विद्यार्थीले बिरामी जाँच्न पाउँछन् । तर यसअघिसम्म विदेशी चिकित्सकले श्रम र स्वास्थ्य मन्त्रालयको सहमति र मेडिकल काउन्सिलको निर्णयका आधारमा मात्रै विरामी जाँच्न पाउने व्यवस्था थियो ।
अहिले मेडिकल काउन्सिलले नियमावलीनै संशोधन गरेर विदेशी विद्यार्थीले लाइसेन्स परीक्षा दिन सक्ने व्यवस्था गरेपछि चिकित्सकहरुको छाता संस्था नेपाल चिकित्सक संघसमेतले आपत्ति जनाएको छ ।
काउन्सिलले भने विदेशीलाई लाइसेन्स परीक्षा सहभागी गराउनु योग्यताको परीक्षण मात्रै भनेको छ । परीक्षामा सहभागी हुने वित्तिकै उनीहरुले विरामीको उपचार नपाउने भएकाले नेपाली चिकित्सकले चिन्ता लिनु नपर्ने काउन्सिलको भनाइ छ ।
मेडिकल काउन्सिलले नियमावली संशोधन गर्दा चिकित्सक संघको समेत सुझाव लिएको छैन । नेपाली चिकित्सकको अभ्यास र रोजगारीमा असर नपर्ने गरी सरकार र मेडिकल काउन्सिल गम्भीर हुन जरुरी छ ।