
लगातार पार्टीमा क्षयिकरण भएर माओवादी केन्द्र संसदभित्रको आकारमा सानो बनेपनि राजनीतिक चतु्र्याईका कारण अध्यक्ष पुष्पकमल दाहाल शक्तिको केन्द्रमा देखिन्छन् ।
स्थानीय तहको निर्वाचनको नतिजाले हौसिएका दाहाल थप शक्ति आर्जन गर्न समेत बलियो तालमेलमा जुटेका छन् । उनी चुनावपछि सरकारको नेतृत्वनै हत्याउने गरि पार्टीलाई निर्णायक शक्ति बनाउने ध्याउन्नमा छन् ।
दुई ठुला पार्टी एमाले र कांग्रेस तेस्रो हैसियतमा रहेको माओवादी केन्द्रलाई साथमा लिएर बलियो बन्ने रणनीतिमा रहेका बेला माओवादीले समेत आफ्नो हैसियतको मोलमोलाई गरिरहेको छ ।
उसले चुनावी भागबन्डा मात्र हैन त्यसपछिका गठबन्धन सरकारको नेतृत्वमा समेत बलियो हिस्सेदारी खोजेको छ । गठबन्धन कायम रहे आफुहरु कमजोर बन्ने भयले माओवादीलाई साथमा लिने या सत्तागठबन्धन तोड्ने रणनीतिमा प्रमुख प्रतिपक्षी एमाले छ। कांग्रेस पनि गठबन्धन कायम राखेर संसदमा बहुमत सिट हात पार्ने प्रयासमै छ ।
प्रमुख दुई दल एमाले र कांग्रेस मिलेर जाने सम्भावना रहन्न त्यसैले तेस्रो पार्टी निर्णायक रहन्छ । त्यसैको फाईदा उठाईरहेका छन् माओवादी केन्द्रका अध्यक्ष दाहालले ।
त्यसो त ०६४ को निर्वाचनमा पहिलो दल बनेको माओवादी पुन: शक्ति बढाउने कसरतमा छ । त्यसैले कहिले समाजवादी केन्द्र त कहिले बाम ध्रुविकरणको कसरतमा दाहाल छन् । तर पनि सत्तागठबन्धनलाई निरन्तरता दिने रटान र अडान भने अहिलेसम्म उनले छाडेका छैनन् ।
नयाँ तालमेलसँगै निर्वाचनपछि बन्ने सरकारको समीकरणको रस्साकस्सीले समेत नेताहरुबीच तालमेलमा तानातानको परिस्थिति बनेको विश्लेषकको बुझाई छ ।
साना दलहरुलाई समेत साथमा लिएर हुने सम्भावित तालमेलका रणनीतिहरुमा माओवादी अध्यक्ष दाहाल नै केन्द्रमा छन् । त्यसो त सधै निर्णायक बन्ने र अवसरलाई लिइहाल्ने दाहालको चिरपरिचत स्वभाव नै हो ।