
विधिको शासनलाई मुख्य नारा बनाएर अखिल नेपाल फुटवल संघ एन्फाको अध्यक्षमा चुनिएका पंकजविक्रम नेम्वाङ नेतृत्वको पदाधिकारीमा एक महिना नबित्दै किचलो सुरु भएको छ ।
पदाधिकारी मनोनित र कर्मचारी नियुक्तीमै कुरा बाझिदा फुटवल विकासका मुद्दा ओझेलमा मात्र परेका छैनन्, निर्वाचनको समयमा एकै ठाउँमा उभिएका पदाधिकारीहरु छिन्नभिन्न भएका छन् । फुटवलभन्दा ब्यक्तिगत स्वार्थ हाबी हुँदा एन्फामा रमिता दोहोरिएको हो ।
एन्फाको १९ सदस्यीय कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का प्यानलको बहुमत छ । पूर्व अध्यक्ष गणेश थापा निकट यो समुहले प्रमुख कार्यकारी अधिकृत सीईओमा गौरव थापा, प्रवक्तामा पाँचथरका सुरेश शाहलाई नियुक्त गर्नुपर्ने अडान लिदै आएको छ ।
अध्यक्ष नेम्वाङ पक्षमा उपाध्यक्ष दावा लामा र महासचिव किरण राई उभिएका छन् । उपाध्यक्ष दीर्घबहादुर केसीको नेतृत्वमा कर्मा छिरिङ शेर्पा निकट समुह छ । पदाधिकारी र कर्मचारीको नियुक्तीको बिषयमा यो समुह तटस्थ छ ।
निर्वाचनमा नेम्वाङलाई पूर्वअध्यक्ष गणेश थापा पक्षको समर्थन थियो । अहिले थापा पूर्व सहमति अनुसार आफ्ना छोरा गौरवलाई एन्फामा सिइओ र अन्य केही पदाधिकारीको नियुक्तीको कसरतमा रहँदा नेम्वाङ त्यसलाई रोक्ने पक्षमा छन् ।
नव निर्वाचित कार्यसमितिले पहिलो बैठकबाटै किरण राईलाई महासचिव, रविन्द्र जोशीलाई कोषाध्यक्ष र अन्तर्राष्ट्रिय विभाग प्रमुख नविन पाण्डेलाई नियुक्त गरेको थियो ।
तर नविन पाण्डेको नियुक्ती खारेजीको माग गर्दै वीरबहादुर खड्का निकट १२ सदस्यहरुले एन्फामा निवेदन बुझाए । एउटा समुह आफु अनुकुल वातावरण नबनेपछि पान्डेलाई हटाउन कम्मर कसेरै लागेको छ ।
तटस्थ देखिएको कर्माछिरिङ शेर्पाको प्यानलले पनि नविन पाण्डेको नियुक्ति खारेजीका लागि समर्थन जनाएको छ भने अध्यक्ष नेम्वाङ चुनावताका आफूलाई काँध हालेका पाण्डेलाई जोगाउन चाहान्छन्।
फुटवलको विकासका बिषय पद भागबन्डाको स्वार्थमा गिजोलिएको छ । फुटबलमा भविष्य नदेखेर धमाधम खेलाडी विदेशीदै गर्दा एन्फाले घाईते खेलाडीको उपाचार, बक्यौता रकमको परिपूर्ति, बिभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता, घरेलु प्रतियोगताको मिति तय लगायत दजनौं महत्वपूर्ण निर्णय गर्न सकेको छैन ।