
पहिलो पटक नेपाली सेनामा कार्यरत दुई जनालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जनकपुरमा गरिएको पीसीआर परीक्षणमा सेनाका दुई कर्मचारीमा कोरोना पुष्टि भएको जानकारी दिए ।
उनीहरु मध्य पृतना महोत्तरीमा कार्यरत रहेको पाण्डेको भनाइ छ । उनीहरुलाई एम्बुलेन्समार्फत काठमाडौं ल्याउन लागिएको र काठमाडौं ल्याइसकेपछि सशस्त्र प्रहरीको कोरोना विशेष अस्पतालमा राखिने सेनाले जनाएको छ ।
शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थय मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले महोत्तरीका ५२ र काभ्रेका २६ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको बताएका थिए । उनीहरु नै सेनामा कार्यरत भएको खुलेको हो ।
यससँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २७८ पुगेको उनले बताए ।
नेपाली सेनाका मध्यपूर्वी पृतनापतिलाई कोरोना संक्रमण
नेपाली सेनाको मध्यपूर्वी पृतनाका प्रमुखलाई कोरोना भाइरस ९कोभिड–१९० संक्रमण भएको पाइएको छ ।
स्वास्थ्य मन्त्रायलले शनिबार अपरान्ह काभ्रे घर भइ महोत्तरीमा कार्यरत २६ वर्षीय र महोत्तरीका ५२ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको थियो ।
उनीहरु नेपाली सेनाको मध्यपूर्वी पृतनामा कार्यरत भएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताएका थिए । यद्यपि उनले दर्जाबारे खुलाएनन् ।
तर सुरक्षा सम्बद्ध उच्च स्रोतले संक्रमित ५२ वर्षीय पुरुष नेपाली सेनाको पृतनापति भएको बताएको छ । मध्यपूर्वी पृतनामा उपरथीको नेतृत्व छ । बर्दिवासको किशान नगरस्थित पृतनाका प्रमुख लकडाउनका समयमा विभिन्न कार्यक्रममा सहभागी भएका थिए । त्यसक्रममा उनलाई संक्रमण भएको हुनसक्ने प्रारम्भिक आशंका गरिएको छ ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले सैनिक अधिकारीको दर्जा थाहा भइनसकेको दाबी गरे । यद्यपि कन्ट्याक ट्रेसिङको कार्य भने थालिसकिएको उनले जनाए ।
महोत्तरीका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले पनि संक्रमित व्यक्ति सेनाको उच्च अधिकृत भएपनि थप विवरण बताउन नमिल्ने बताए ।