
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई ‘आइटी हब’को रुपमा विकसित गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपालको इन्सोरेन्स एग्रिगेटर ‘मेरो बीमा’ को आज उद्घाटन गर्नुहुँदै मन्त्री कार्कीले मुलुकको समग्र विकासको निम्ति जलस्रोत, पर्यटन र व्यावसायिक कृषि क्षेत्र जस्तै गरी देशलाई ‘आइटी हब’ बनाउनुपर्नेमा जोड दिनुभयो ।
सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले सरकारी, निजी, अन्य क्षेत्रको कार्य सञ्चालन र सेवा प्रवाहमा मात्रै नभई, आम जनताको दैनिक क्रियाकलाप समेतमा सूचना प्रविधि अनिवार्य आवश्यकताको रुपमा स्थापित भइसकेको बताउनुभयो ।
मोबाइल सेवाको बढ्दो प्रयोगले सूचना प्रविधिको माध्यमबाट सेवा दिने र लिने क्रम बढिरहेको बताउँदै उहाँले सरकारी कार्यालय क्रमशः सूचना प्रविधिमैत्री भइरहेको बताउनुभयो । मन्त्री कार्कीले सूचना प्रविधिको क्षेत्रमा भएको विकासको गतिका कारण बैङ्क तथा वित्तीय क्षेत्रका काम कागजरहित हुने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी मन्त्री कार्कीले आजै नेपाल विश्व सहयोग सङ्घ र नेपाल सौरपानी मिडिया प्रालिले आयोजना गरेको ‘स्रष्टा सम्मान तथा लोकार्पण कार्यक्रम’ मा १४ कलाकार तथा साहित्यकारलाई सम्मान गर्नुभयो ।
मन्त्री कार्कीले साहित्यकार प्राडा रामप्रसाद ज्ञवाली, समाजसेवी कैलाश पनेरु, मोहन निरौला, सञ्चारकर्मी जीवन पराजुली, चलचित्र निर्देशक देवेन्द्र पाण्डे, कलाकार उत्तम केसी, गायक तुलसी पराजुली, कलाकारद्वय हेमा पनेरु र पूर्ण नेपाली, पत्रकार प्रदीप परियार थापा, कलाकार श्रेया कार्की, समाजसेवी सरिता विक सरु, अभिनाथ न्यौपाने र सहिल खान लगायतलाई सम्मान गर्नुभयो ।
सोही अवसरमा मन्त्री कार्कीले देशमै उपलब्ध स्रोत साधनको उपयोग गर्दै रोजगारीको सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री कार्कीले नेपाली साहित्य क्षेत्रले समृद्ध नेपाल निर्माणमा अझै सकारात्मक र सृजनात्मक भूमिका निर्वाह गर्नुपर्ने अपेक्षा गर्नुभयो ।