
डिजे सन्तोष रिमिक्स गीतका लागि चिनिन्छन् । उनी प्राय सबैखाले संगीत सुन्छन् । लोकसंगीत अझै बढी सुन्छन् र अध्ययन गर्छन् ।
लोकभाका संकलनकैलागि देशका विभिन्न ठाउँ पुगेका छन् । उनी भनछन्, ‘ती गीतमा कुनै त त्यस्तो ठाउँ होला, जहाँ मैले नयाँ केही गर्नसक्छु भनेर खोज्छु’ । ‘त्यसका लागि एउटै गीत पटक–पटक सुन्छु ।’
हङकङलाई कर्मथलो बनाएर लामो समय संगीत र साउन्ड रेकर्डिङको काम गरेका सन्तोष अहिले नेपाल फर्किएर नयाँ गीत रिलिज गर्ने संघारमा छन् । बुधबार उनको नयाँ रिमिक्स गीत सार्वजनिक हुँदैछ ।
हङकङ जानुअघि उनले ‘मै छोरी सुन्दरी’, ‘चियाबारीमा’, ‘घरबेटी नानी’, ‘कलकत्तै काइयो’, ‘नाचिदेऊ मैच्यांग’लगायत धेरै गीतहरु रिमिक्स गरेर दर्शकलाई नचाएका थिए ।
यसक्रममा कतिपयले उनलाई नारायणगोपालको गीत रिमिक्स गर्न पनि सुझाव नदिएका होइनन् । सन्तोष आफैं नारायणगोपालका ठूलो फ्यान हुन् ।
उनी अघि भनछन्, ‘नारायणगोपालका प्रायः गीत सुनिसकेको छु । तर, फेरि सुन्छु । नारायणगोपालको एउटा गीतलाई रिमिक्स गरेर ११ पटकसम्म रेकर्ड गरेँ, तर ती गीतलाई रिमिक्स गरेर मैले कुनै नयाँ फ्लेबर दिन सक्दिँन भन्ने लाग्छ ।
कहाँ रिमिक्स गर्ने भन्ने नै पत्ता लगाउन सकिन्न,’ उनले भने, ‘नारायणगोपाल, गोपाल योन्जन, अमर गुरुङ, नातिकाजी, बच्चु कैलाशलगायत गायकहरुलाई म लिजेन्ड भन्छु । उहाँहरुका गीत सदाबहादर हुन्छन् । हरेक जेनेरेशनले त्यसलाई नविन ठान्छ ।’
यसको अर्थ आफुले रिमिक्स गरेका गीतहरु साधारण थिए भन्ने पनि होइन । ‘ती गीत पनि कुनै समय निकै चलेका गीत हुन् । मैले त त्यसको कुनै पार्टलाई समातेर नयाँपन दिने कोसिससम्म गरेको हुँ । ती गीत हिट थिए र त रिमिक्स पनि हिट भयो ।
त्यही गीतका आधारमा मैले पहिचान बनाएको छु,’ उनले भने, ‘जसरी पुरानो संरक्षण गर्नुपर्ने घरलाई हामी रेक्टोफिटिङ गरेर राख्छौं नि । त्यसरी नै भाव नमर्नेगरी ती गीतलाई संरक्षण गर्ने जमर्को गरेको हुँ । रिमिक्स गरेर बिर्गान भएन, संरक्षण हुनुपर्यो भन्नेमा सचेत रहन्छु ।’ उनले भने।



