
पर्सा वीरगञ्ज महानगरपालिका–१२ मा शनिबार फेला परेका २८ वर्षीय कोरोना संक्रमित औषधी पसलमा काम गर्दै आएको खुलेको छ । संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङका क्रममा वडा नम्बर–३ विर्तामा रहेको ओम अस्पतालस्थित औषधी पसलमा कार्यरत रहेको खुलेको हो ।
आफ्नो दिदीको घरमा बस्दै आएका उनले वडा नम्बर ३ मा कोरोनाभाइरसको संक्रमण फैलिन थालेपछि परीक्षणका लागि स्वाबको नमूना दिएका थिए ।
नमूना दिएपछि उनी मुरली–१२ स्थित आफ्नो घर फर्किएका थिए । लामो समयपछि घर फर्किएका उनले २ गते साँझ १०–११ जना साथीहरुलाई गेट टुगेदर पार्टी दिएको पनि खुलासा भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
त्यस्तै, उनी स्थानीय सैलुनमा दाह्री काट्न गएको र सोही दिन ती हजामले थप २० जनाको कपाल र दाह्री काटेको खुलेको छ ।
त्यसपछि पनि उनी टोलमा घुमिराखेको पाइएको स्थानीयहरु बताउँछन् । हालसम्म सो क्षेत्रलाई सिल नगरिएको र अरुको नमूना परीक्षण नगरिएको उनीहरुको आरोप छ ।