
प्रधानमन्त्री शेरबहादुर देउवाले आज (बिहीबार) अपरान्ह १ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।
बालुवाटार स्रोतले दिएको जानकारी अनुसार प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोक्नका लागि मन्त्रिपरिषद बैठक बोलाइएको हो ।
सत्ता गठबन्धनको हिजो बुधबार बसेको बैठकले आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने सहमति जुटाइसकेको छ । गठबन्धनको सहमतिबमोजिम मन्त्रिपरिषदको बैठकले निर्वाचनको मिति घोषणा गर्नेछ ।
निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न सिफारिस गरेको थियो भने १२० दिनको निर्वाचन अवधि कायम हुनुपर्ने माग गरेको थियो । तर सरकारले १०७ दिनको निर्वाचन अवधि राखेर मंसिर ४ गतेका लागि निर्वाचनको मिति तोक्ने तयारी गरेको छ ।