
उपत्यका प्रवेश गर्ने एक प्रमुख नाका नागढुंगामा खटिएका युवा स्वयंसेवी स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चन्द्रागिरिका उत्तम कार्की छन् । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले उनलाई पक्राउ गरिएको पुष्टि गरेका छन् । कार्कीविरूद्ध अभद्र व्यवहारको कसूरसम्बन्धी अभियोगमा कारबाही प्रक्रिया अघि बढ्ने उनले बताए ।
कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि खटिएको भन्दै शुक्रबार दिउँसो उनीलगायतले वागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीलाई दुर्व्यवहार गरेका थिए ।
उनीहरुले प्रहरीकै अगाडि कार्कीको खानतलासी पनि लिएका थिए । जसको चौतर्फी विरोध भएको थियो । कार्कीविरूद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ।
शुक्रबार उक्त नाकाबाट काठमाडौं उपत्यका प्रवेश गर्न खोजेका प्रदेश-३ का जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीको गाडीलाई रोकेर केही व्यक्तिले सोधपुछ गरेका थिए।
आफ्नो परिचयपत्र देखाए पनि चन्द्रगिरिका उत्तम कार्कीलगायतले निर्देशक कार्कीको झोलासमेत खानतलासी गरेका थिए। उनले खिचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो भने विरोधसमेत भएको थियो।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रयोगशालाका निर्देशक कार्कीमाथि अभद्र व्यवहार गर्नेलाई कारबाही गर्न माग गरेको थियो।
दुर्व्यवहार गर्ने उत्तम कार्कीको कुनै पनि परिचय पत्र नरहेको समेत खुलेको छ।
भिडिओ खिच्ने र निर्देशक कार्कीमाथि दुर्व्यवहार गर्ने उत्तम कार्कीले सामाजिक सञ्जालमार्फत् माफी मागेका छन्।
शुक्रबार काठमाडौं छिर्ने नाकामा स्वस्थ्यकर्मीको झोला हेर्न खोज्नु मेरो गल्ती हो, उनले आफ्नो फेसबुकमा लेखेका छन्, म स्वीकार गर्छु। त्यसैले त्यस घटनाप्रति म क्षमाप्रार्थी छु।