
डिभी २०२३ का विजेताहरुले अक्टोबरदेखि भिसा पाउन सुरु गर्नेछन् तर १४५० सम्म केस नम्बर हुने २०२३ का डिभी विजेता नेपालीहरु अक्टोबरमा भिसा पाउन योग्य हुने भएका हुन् । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले आज जारी गरेको भिसा बुलेटिन अनुशार डिभी २०२३ को पहिलो महिना नेपालीहरुलाई १४५० केस नम्बरको सिमाबन्दी लगाइएको छ ।
इरानलाई अक्टोबरमा २५ सय सम्म केस नम्बरमा सिमाबन्दी लगाइएको छ भने एसियाका अन्य देशलाई २८ सयसम्म केस नम्बरको सिमाबन्दी छ । अफ्रिकामा अल्जेरिया, इजिप्ट र मोरक्कोलाई छुट्टै सिमाबन्दी लगाइएको छ भने बाँकी देशलाई ५७ सय सम्म केस नम्बरको सिमाबन्दी लगाइएको छ ।
आर्थिक बर्ष २०२३ का डिभी विजेता नेपालीहरुको संख्या ३८०८ रहेको छ । एसियामा सबैभन्दा धेरै इरानका ५५०६ जनाले डिभी लोटरी पारेका छन् ।
अफ्रिकामा अल्जेरियाका ५५२६, कंगोका ४३८५, इजिप्टका ५५२९, मोरक्कोका ४४६९ र सुडानका ४८६३ जनाले डिभी लोटरी पारेका छन् । युरोपमा रसियाका ५५०४ र उज्वेकिस्तानका ५५११ जनाले डिभी लोटरी पारेका छन् । यसरी विश्वमा डिभी लोटरी पार्नेमा नेपालीहरु नवौं नम्बरमा छन् । युक्रेनका पनि ३८०८ जनाले नै डिभी लोटरी पारेका छन् ।
आर्थिक बर्ष २०२३ का लागि डिभी लोटरी पारेकाहरुले आगामी अक्टोबर १ देखि भिसा पाउन सुरु गर्नेछन् । उनीहरुले सन् २०२३ को सेप्टेम्बरभित्र भिसा पाइसक्नुपर्ने प्रावधान रहेको छ । कुल १ लाख १९ हजार २ सय ६२ जनाले डिभी लोटरी पारेकोमा अधिकतम ५५ हजारसम्मले भिसा पाउनसक्नेछन् ।
डिभी २०२३ मा ९५ लाख ७० हजार २ सय ९१ जना सहभागी भएका थिए । उनीहरुले गतबर्षको अक्टोबर ६ देखि नोभेम्बर ९ सम्म डिभी लोटरी भरेका थिए । अमेरिकाभित्रै हुने डिभी लोटरी विजेताहरुले युएससीआईएसमार्फत स्थीति समायोजन गरेर ग्रिनकार्ड पाउनसक्छन् भने बाहिर हुनेले कन्सुलर प्रकृयामार्फत भिसा प्राप्त गर्नेछन् ।