६ बैशाख २०८२, शनिबार

पटकपटक स्थगित हुँदै आएको एन्फा कार्यसमिति बैठक भोलि बस्दै, यस्ता छन् एजेण्डा

received 1463850810716126
फाइल फोटो

पटकपटक स्थगित हुँदै आएको अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक भोलि बस्दैछ ।

बैठकमा राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको विषयमा छलफल हुने एन्फाले जनाएको छ । मुख्य प्रशिक्षक र खेलाडीबीचको विवादमा छानबिन समितिले दिएको सुझावका आधारमा तयार पारिएको प्रतिवेदनलाई भोलिको बैठकमा लाने तयारी भएको एन्फा महासचिव किरण राईले बताए ।

तर यो विषय नटुगिंदै अलमुताइरीले बंगलादेशसँगको आसन्न मैत्रीपूर्ण फुटबलका लागि २६ खेलाडीलाई प्रशिक्षणमा डाक्न एन्फालाई पत्राचार गरिसकेका छन् ।

यसअघिनै एन्फाले सबै खेलाडीलाई राष्ट्रिय टोलीमा फिर्ता बोलाउने निर्णय गरेपनि अलमुताइरीले भने त्यसमध्येका अन्जन विष्ट र तेज तामाङको नाम मात्र सूचीमा समावेश गरेका छन् ।

त्यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नवीन पाँडेलाई बर्खास्त गर्न माग गरिएको विषयमा समेत बैठकमा छलफल हुने महासचिव राईले बताए । वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित १३ जनाले पाँडेलाई बर्खास्त गर्ने सम्बन्धमा छलफल गर्न बैठक माग गरेका थिए ।

यसअघि साउन २ गते बोलाइएको बैठक अध्यक्ष नेम्वाङको स्वास्थ्यको कारण देखाउँदै र ५ गते डाकिएको बैठक एजेन्डामा प्रवेशनै नगरी स्थगित भएको थियो ।