
सर्वोच्च अदालतले नेपाल आयल निगमका पूर्व कार्यकारी प्रमुख युवराज शर्मालाई भ्रष्टाचार मुद्दामा दोस्रोपटक दोषी ठहर गरेको छ ।
न्यायाधीश सपना प्रधान मल्ल, मनोजकुमार शर्मा र कुमार चुडालको पूर्ण इजलासले शर्मालाई दोषी ठहर गरेको हो । सर्वोच्चले १० वर्षपछि फैसला सुनाएको हो । यसअघि सर्वोच्चको संयुक्त इजलासले यही मुद्दामा फैसला सुनाउँदै शर्मालाई दोषी ठहर गरेको थियो ।
त्यसविरुद्ध उनले सर्वोच्चमा पुनरावलोकन निवेदन दिएका थिए । २०५७ बैशाख २८ गतेसम्म शर्मा निगमको कार्यकारी निर्देशक थिए । पदमा रहँदा भ्रष्टाचार गरेर गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको ठहर गर्दै सर्वोच्चले ५३ लाख ९९ हजार ७८० बिगो र सोही बराबर जरिवाना असुल हुनुपर्ने ठहर गरेको थियो ।
सर्वोच्चले बिगो बराबरको जरिवानाका साथै ९ महिना कैद र महाप्रबन्धक जस्तो सार्वजनिक ओहोदाको पदमा रही भ्रष्टाचार गरेकाले थप ३ महिना कैद हुने फैसला सुनाएको थियो ।
त्यसबेला विशेष अदालतले भने उनलाई सफाइ दिएको थियो ।