
काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रमा पार्किङका लागि नक्सा पास भएका व्यापारिक भवनको संरचना भत्काएको छ ।
नक्सामा अन्डरग्राउण्ड पार्किङ भएपनि त्यहाँ पसल सञ्चालन गरिरहेका बानेश्वर कम्प्लेक्सलगायतका क्षेत्रमा बनेका व्यापारिक भवनका पार्किङ खुलाउन मेसिन प्रयोग गरेर महानगर प्रहरीले संरचना भत्काएको हो ।
काठमाडौं महानगरपालिकाले भवनको नक्सा पास गर्दा राखेको अन्डरग्राउण्ड पार्किङलाई अरु प्रयोजनमा नलगाउन व्यापारीहरूलाई आग्रह गर्दै ३५ दिने सूचना जारी गरेको थियो ।
सूचना जारी भएको म्याद आज सकिएपछि नयाँ बानेश्वर क्षेत्रमा व्यापारिक भवनहरुको अन्डरग्राउण्ड पार्किङको अनुगमन गर्न मेयर बालेन्द्र साह आफैं खटिनुभएको थियो ।
नयाँ बानेश्वर क्षेत्रमा महानगरपालिकाबाट अन्डरग्राउण्ड पार्किङको अनुमति लिएर २२ वटा भवन निर्माण भएका छन् ।
अनुगमनका क्रममा प्रायः सबै भवनले अन्डरग्राउण्ड पार्किङ क्षेत्रलाई पसल सञ्चालनका लागि भाडामा दिएको पाइएको महानगरले जानकारी दिएको छ ।




