
काठमाडौं महानगरपालिकाले बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अनाधिकृत संरचनामा बिहीबार डोजर चलाएको छ । आज बिहानै मेयर बालेन्द्र साह (बालेन) अल्फाबिटामा अनुमतिबेगर बनाइएको संरचना हटाउन पुगेका थिए ।
अल्फाबिटाले नक्सामा पार्किङ भनेर उल्लेख गरेको बेसमेन्टमा अनाधिकृत संरचना बनाएर फार्मेसी सञ्चालन गरिरहेको थियो ।
डोजर चलाउन निर्देशन दिएपछि बालेनले फेसबुकमा अल्फाबिटाका मालिकले भवनको नक्सा आफूसँगै मागेपछि अफिसमा गएर नक्सा र डोजर लिएर आएको बताएका छन् ।
‘मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ ? नक्सा जसरी पास भएको छ, त्यहीअनुसार बनाइदिनुहोला,’ उनले भनेका छन् ।
अब उप्रान्त यस्तो गर्नु नपर्नेगरी सबैले आफैँ बुझेर अवैधरूपमा बनाइएका संरचना हटाइदिन बालेनले आग्रह गरेका छन् ।
अवैध संरचना बनाउने अल्फाबिटामा चल्यो डोजर
काठमाडौंका विभिन्न व्यापारिक कम्प्लेक्स तथा भवनहरुमा मापदण्ड र नक्सा विपरीत निर्माण गरिएका संरचना हटाउन शुरु गरेको काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वर (बुद्धनगर)मा रहेको अल्फाबिटा कम्प्लेक्समा पनि डोजर चलाएको छ।
अल्फाबिटा कम्लेक्स नक्सा विपरीत बेसमेन्टमा निर्माण गरिएका अल्फा केयर फार्मेसीमा महानगरपालिकाले डोजर चलाएको छ।
बिहीबार बिहान सुरुमा मेयर बालेन्द्र शाह (बालेन) सहित पुगेको महानगरको टोलीले अल्फाबिटा कम्लेक्सका सञ्चालकलाई नक्सा विपरीत बेसमेन्टमा निर्माण गरिएका संरचना हटाउन भनेको थियो। तर, नक्साको विषयमा कम्प्लेक्सका सञ्चालक र मेयर शाहबीच विवाद भएको थियो।
सञ्चालकले नक्साको विषयमा विवाद गरेपछि मेयर साह महानगरपालिकाबाट स्वीकृत कम्प्लेक्सको नक्सासहित डोजर लिएर त्यहाँ पुगेका हुन्।
३५ दिने सूचना जारी गर्दा समेत अवैध संरचना नहटेपछि मेयर साहले स्थलगत रुपमा अनुगमन गरी नहटाएका संरचना हटाउने अभियान थालेका थिए।
त्यसक्रममा नयाँ बानेश्वर, सुन्धारा, न्यूरोड क्षेत्रका कम्प्लेक्समा निर्माण गरिएका अवैध संरचना निर्माण हटाइएको छ भने केही ठाउँमा हटाउने क्रम जारी छ।
