
नेकपा एमालेले वैवाहिक अंगीकृतले निश्चित समयको अन्तरालमा मात्र नागरिकता पाउने व्यवस्था गर्नुपर्ने उल्लेख गरेको छ ।
पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष केपी शर्मा ओलीले नागरिकताका सम्बन्धमा संविधानमा गरिएको व्यवस्था कार्यान्वयन गर्न नयाँ ऐन बनाउनुपर्ने उल्लेख गर्नुभएको छ ।
यसका लागि विगतमा संसदमा प्रस्तुत गरिएको नागरिकता विधेयक र सम्वन्धित समितिमा यससम्बन्धमा भएका छलफल र निष्कर्षहरुलाई आधार बनाउनु पर्नेमा ओलीको जोड छ । ओलीले आफ्नो प्रतिवेदनमा बैबाहिक अंगीकृतको हकमा निश्चित समयपछि मात्रै नागरिकता दिनुपर्ने र त्यतिन्जेलका लागि परिचयपत्र दिनुपर्ने बताउनुभयो ।
लैगिक समानता, आमाको आत्मसम्मान, आमाको नामबाट नागरिककता पाउने संवैधानिक प्रबन्धनको कार्यान्वयन लगायत विषयमा राष्ट्रपतिले उठाएका प्रश्नमा गम्भीर छलफल गर्नुपर्ने ओलीको माग छ । १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा ओलीले अहिले भइरहेको राजनीतिक ध्रुवीकरण तत्कालका लागि चुनौतीपूर्ण भएपनि दिर्घकालीन हिसाबमा सकारात्मक रहेको बताउनुभयो ।
सत्तारूढ गठबन्धनका गतिविधिहरूले मुलुकको राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका सवालमा संकट पैदा गरेको ओलीको निष्कर्ष छ ।
राष्ट्रियताको रक्षा, लोकतन्त्रको सुदृढीकरण, जनजीविकाको उत्थान र समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा एमाले निर्विवाद रुपमा स्थापित भएको उहाँको दाबी छ ।
स्थानीय चुनावमा एमालेले सर्वाधिक मत पाएको र पाँच दलले एक्लै लड्न डराएर नयाँ दलहरुलाई गठबन्धनमा थप्न खोजेको ओलीको विश्लेषण छ ।
बहुमतका लागि एमालेलाई १६ प्रतिशत मत मात्र अपुग रहेको भन्दै ओलीले चुनावी जितका लागि पार्टी प्रवेशलाई मुख्य अस्त्रका रुपमा अघि सार्नुभएको छ ।