
आगामी संसदीय निर्वाचनका लागि एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल र उपमहासचिव डा विजयकुमार पौडेलको नाम एकै निर्वाचन क्षेत्राट सिफारिस भएको छ।
भुसाल र पौडेललाई रुपन्देही क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीको उम्मेदवार सिफारिस गरिएको हो । उहाँहरुसँगै उमापति पाण्डेको नाम तेस्रो स्थानमा सिफारिस भएको छ । पार्टी क्षेत्रीय कमिटीको बैठकले उहाँहरुको नाम सिफारिस गरेको हो ।
पहिलो प्राथमिकतामा पौडेलको नाम प्रस्ताव गरिएको छ । पौडेल रुपन्देहीमा विगतमा जिल्ला पार्टी सचिव भइसकेकोले एमालेको मत पनि तान्न सक्ने भन्दै उहाँलाई पहिलो प्राथमिकताका साथ सिफारिस गरिएको एक नेताले बताए ।
पौडेल मोदनाथ प्रश्रितका सुपुत्र हुनुहुन्छ । प्रश्रित २०५१ सालको चुनावमा बुटवल क्षेत्र अर्थात तत्कालिन रुपन्देही क्षेत्र नम्बर ३ बाट सांसद हुनुभएको थियो ।
प्रश्रितले सक्रिय राजनीति गर्न छाडेपछि विजय एमालेको केन्द्रीय राजनीतिमा आउनुभएको हो । उहाँ पहिले एमालेको रुपन्देही जिल्ला सचिव हुनुहुन्थ्यो । त्यसबेला सचिव नै जिल्ला पार्टी प्रमुख हुन्थ्यो।
पछि एमालेको केन्द्रीय राजनीतिमा सक्रिय रहनुभएका उहाँ एमाले विभाजनपछि माधव नेपालसँग एकीकृत समाजवादीमा जानुभएको हो ।
रुपन्देही क्षेत्र नम्बर २ बाट राजु गुरुङको चर्चा छ । रुपन्देहीका ५ वटा निर्वाचन क्षेत्रमध्ये नेकपा एकीकृत समाजवादीले एउटा सिट पाउनुपर्ने दाबी गरेको छ।
२०७४ सालको चुनावमा रुपन्देहीका क्षेत्र नम्बर १, २ र ३ नम्बर क्षेत्र एमालेले र ४ र ५ नम्बर क्षेत्र नेपाली कांग्रेसले जितेको थियो।
एमालेले जितेको मध्ये एउटा क्षेत्र आफूले पाउनुपर्ने एकीकृत समाजवादीको दाबी छ।