
मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमालेले उम्मेदवार सिफारिस गर्न तल्ला कमिटीहरुलाई निर्देशन दिएको छ ।
समानुपातिकबाट एकपटक उम्मेदवार भइसकेकाको हकमा पुनः नदोहोर्याउने निर्णयमा पुगेको एमालेले अवसरको न्यायोचित वितरणलाई ध्यान दिन निर्देशन दिएको छ ।
नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मापदण्ड तय गरेको छ । केन्द्रीय कमिटी बैठकले प्रतिनिधि सभा र प्रदेशसभाका उम्मेदवारको नाम भदौ २२ गतेभित्र पठाइसक्न मातहतका कमिटीलाई निर्देशन पनि दिएको छ ।
एमालेको उम्मेदवार सिफारिसका लागि कस्तो मापदण्ड छ त ?
–उम्मेदवारको नाम सिफारिस गर्दा अवसरको न्यायोचित वितरणलाई ध्यान दिने
–समानुपातिकबाट एक पटक अवसर पाएकालाई आमरुपमा नदोहोर्याउने
–स्थानीय तहका जनप्रतिनिधिलाई राजीनामा गराएर प्रतिनिधिसभा र प्रदेशसभामा ल्याउन नपाइने
–पछिल्लो पटक निर्वाचनमा पराजित भएकालाई उम्मेदवार नबनाउने
–जित्ने सम्भावना भएका र संसदीय भूमिकामा प्रभाव राख्ने प्राथमिकतामा
सम्बन्धित निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले उम्मेदवार सिफारिस गरेर जिल्ला कमिटी र प्रदेश कमिटीको रायसहित केन्द्रमा पठाउनुपर्ने एमालेको निर्णय छ । सिफारिसलाई नै अन्तिम नमानि केन्द्रकै निर्णयअनुसार निर्वाचनमा होमिन पनि एमालेले निर्देशन दिएको छ ।
तल्ला कमिटीहरुलाई भदौ २२ गतेसम्ममा उम्मेदवार सिफारिस गरिसक्न निर्देशन दिएको एमालेले सिफारिस गर्दा एक महिलासहित ३ जनाको नाम पठाउन भनेको छ ।
जनाधार भएका र निर्वाचन प्रयोजनलाई समेत ध्यानमा राखेर पार्टी प्रवेश गराइएकाहरुको हकमा विशेष निर्णय लिन उपयुक्त हुने एमालेको निश्कर्ष रहेको छ ।