
नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रसँग आफ्ना एजेण्डा मिल्ने भएकाले गठबन्धन गर्न लागेको बताएका छन् । मंगलबार साँझ कार्यकर्ता प्रशिक्षणका लागि सुर्खेत आएका भट्टराईले पत्रकार भेटघाटमा यस्तो बताएका हुन् ।
‘हाम्रा सबै कुरा मिल्दथे भने त हामी अलग पार्टीसँग हुने नै थिएनौं । एजेण्डाका हिसाबले एमाले, कांग्रेसभन्दा धेरै जसोे मुद्दाहरू माओवादीसँग नै मिल्छन्,’ अध्यक्ष भट्टराईले भने ।
विगतमा आफू माओवादीमै रहँदा उठान भएका संघीयता, धर्मनिरपेक्षतालगायत मुद्दा एकै भएकाले माओवादी केन्द्रसँग गठबन्धन गर्न लागेको उनको भनाइ थियो ।
यस्तै, भट्टराईले चुनाव चिह्न फरकफरक भए माओवादीलाई अफ्ठ्यारो हुने भएकाले एउटै चुनाव चिह्न बनाएर निर्वाचनमा जाने निणर्यमा पुगेको बताए ।
राजनीतिक दलको ऐनअनुसार दुईवटा दलले एउटै निर्वाचन चिह्नबाट निर्वाचन लड्न पाउँने व्यवस्था रहेको बताउँदै चुनावपछि माओवादीसँग विचार मिल्दै गए पार्टी एकतासमेत गर्न सकिने धारणा राखे ।