
नवलपुर जिल्ला अदालतले पूर्ण विक्रम शाह अर्थात् पल शाहलाई अढाई वर्ष जेल सजाय गरेको छ । जिल्ला अदालतमा चलिरहेको जबरजस्ती करणी मुद्दामा नायक शाहले सफाइ पाएका छन् ।
मंगलबार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले जबरजस्ती करणी पुष्टी हुन नसक्ने भन्दै शाहलाई बलात्कारको मुद्दाबाट सफाइ दिएका छन् ।
न्यायाधीश आचार्यको इजलासले बहसपछि उक्त फैसला गरेका हुन् ।
शाह बाल यौन दुरुपयोगमा भने दोषी ठहर भएका छन् । यस्तै अदालतले २५ हजार जरिवाना र १० लाख क्षतिपूर्तिको सजाय पनि सुनाएको छ । उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कसुरमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना जेल सजाय समेत हुने फैसलामा उल्लेख गरिएको छ ।
साथै पीडकबाट पीडितलाई १० लाख क्षतिपूर्ति भराउने र २५ हजार रुपैयाँ जरिवाना गराउने फैसलासमेत भएको छ । दफा २२५ अनुसार बालयौन दुरुपयोग गरेमा ३ वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।
नवलपुर जिल्ला अदालतबाट सफाइ पाएपनि शाहको मुद्दा तनहुँ जिल्ला अदालतमा समेत विचाराधीन अवस्थामै रहेको छ । तनहुँ जिल्ला अदालतबाट समेत सफाइ पाएको अवस्थामा र नवलपुर जिल्ला अदालतले तोकेको जेल सजाय काटेपछि भने उनी थुनामुक्त हुन सक्नेछन् ।
एक नाबालिग गायिकाले बलात्कार सम्बन्धी उजुरी गरेपछि शाह पुर्पक्षका लागि थुनामा रहेका छन् । ती गायिकाले नवलपुर र तनहुँमा गरी दुई ठाउँमा उजुरी दिएपछि शाहले दुई वटा जिल्ला अदालतमा एकै पीडितबाट मुद्दा खेपिरहेका छन् ।
फैसलामा पीडित नाबालिकाको अभिभावक र सञ्चारमाध्यमलाई पनि सचेत गराइएको छ । उमेर नपुगेकी आफ्नी नाबालिग छोरी घरबाहिर हुँदा अभिभावक साथमा नरहेको पाइएको कारण अभिभावकीय जिम्मेवारी पूरा नगरेकामा सचेत समेत गराइएको छ ।
साथै सञ्चारमाध्यमले पीडितको पहिचान खुल्ने गरी समाचार प्रकाशन तथा प्रसारण गरेको कारण पीडितको वैयक्तिक गोपनीयतामा क्षति पुगेको कारण त्यसतर्फ सचेत भइदिन आग्रह गरिएको छ ।
नाबालिग गायिकाले भने अदालतमा बयान फेर्दै शाहविरुद्धको आरोप झुटा भएको उल्लेख गरेकी थिइन् ।