
सर्वोच्च अदालतले २०७५ सालमै भत्काउन आदेश दिए पनि वीर अस्पतालले आनाकानी गर्दै फार्मेसीहरूबाट भाडा असुलिरहेको थियो ।
२०५२ सालभन्दा अगाडिदेखि नै सटर बनाएर भाडामा दिँदै आएको अस्पतालले फार्मेसीहरुबाट मात्रै मासिक ६० लाख भाडा असुल्दै आएको थियो ।
स्वीकृत नक्सामा फूलबारी उल्लेख गरिए पनि भवन नै बनाएर औषधि पसललाई भाडामा लगाउने वीर अस्पताल प्रशासनले संरचना नभत्काएपछि महानगरले बिहीबार डोजर चलाएको हो ।
महानगरले बुधबार नै २४ घण्टाको समयभित्र संरचना हटाउन सूचना दिए पनि भ्याक्सिन तथा अन्य संवेदनशील औषधि सार्न कम्तीमा ७ दिन चाहिने व्यवसायीको माग थियो।
फार्मेसी सञ्चालकले समय कम भएकाले पसल हटाउन नसकेको बताए पनि वीर अस्पतालले भने भित्रको फार्मेसीले मात्रै दैनिक २ हजारदेखि २५ सय बिरामीका लागि औषधि बिक्री गर्ने क्षमता नभएकाले वैकल्पिक व्यवस्था नहुँदा हटाउन नसकेको जिकिर गरेको छ।
तर महानगरले भने ३५ दिनअघि नै सार्वजनिक सूचना जारी गरेको र व्यवसायीहरूले आनाकानी गरेकोले डोजर चलाउनु परेको बताएको छ।
काठमाडौं महागरपालिकाले स्वीकृत नक्सामा उल्लेख भएभन्दा फरक ढङ्गले बनाइएका र सरकारी जमिन अतिक्रमण गरी ठड्याइएका संरचना भत्काउने कामलाई तीव्रता दिँदै आएको छ ।
नयाँ बानेश्वरको अल्फाबिटा कम्प्लेक्स, न्युरोडस्थित आर बी कम्प्लेक्स, सुन्धाराको काठमाडौं मल लगायतका व्यापारिक प्रतिष्ठान तथा निजी भवनका अवैध संरचना महानगरले भत्काइसकेको छ। अवैध संरचना भत्काउने कामबाट प्रशंसा पाइरहेको महानगर टुकुचा उत्खननमा भने आलोचित छ।






