
प्रतिनिधि सभा तथा प्रदेश सभा समानुपतिकतर्फको बन्दसूचीप्रति असन्तुष्ट शेखर कोइराला समूहले पार्टी सभापति शेरबहादुर देउवा कार्यशैलीको प्रतिकार नै गर्ने रणनीति लिएको छ ।
समानुपातिकतर्फको १ सय १० सिटमा १० र प्रदेशसभा तर्फको २ सय २० सिटमा ६० सिटमात्रै आफ्नो भागमा परेपछि कोइराला समूह संस्थापनप्रति थप चिढिएको छ ।
सूचीमा परेका समेत क्रमसंख्यामा पछाडी राखिएकाले सदस्य निर्वाचित हुने सम्भावना कम छ । प्रत्यक्षतर्फ उम्मेदवार छनोटमा पनि देउवापक्षले एकलौटी गर्नेमा कोइराला समूह सशंकित छ ।
संस्थापन पक्षलाई दबाब दिन पहिलो चरणमा खवरदारी सभा, धर्ना, पार्टी मुख्यालय घेराउजस्ता विरोधका कार्यक्रम गर्ने कोइराला समूहको तयारी छ । यति गर्दा पनि संस्थापनले नसुने आफ्नो पक्षबाट समानान्तर उम्मेदवारी नै दिनेसम्म गरी छलफल चलाइरहेको छ ।
निर्वाचन आयोगमा बुझाईएको बन्दसूची असोज १६ सम्म फेरबदल गर्न सक्ने सुविधा निर्वाचन आयोगले दिएपछि यो समूहले दबाबका कार्यक्रम बढाएको छ, जसमा दोस्रो पुस्ताका नेताहरुलाई अगाडि सारिएको छ । नेताहरुले पछिल्ला गतिविधि सुक्ष्म रुममा अध्ययन गरिरहेको भन्दै संस्थापन पक्षले मिलाएर लैजानुपर्नेमा जोड दिएका छन् ।
केन्द्रीय समितिमा झण्डै ८० प्रतिशत सदस्यसहित थप शक्तिसाली भएका सभापति देउवा पार्टीभित्रको गुट व्यवस्थापनभन्दा गठबन्धन दल मिलाउन सक्रिय छन् ।
सभापतिको यस्तो कार्यशैलीले निर्वाचन परिणाम सोचेभन्दा फरक आउन सक्नेतर्फ कोइरालासमूहले सचेत पनि गराएको छ ।