
पोखरा महानगरपालिका वडा नं. १९ लामाचौरस्थित गोस्ते खेल मैदानमा महिला र पुरुष फुटबल खेलाउने तयारी छ । तर फुटबल खेलाउन मैदान भए पनि चेन्जिङ रुमदेखि शौचालयसम्म छैन ।
राष्ट्रिय खेलकुद परिषद्ले मैदान मर्मतका लागि १० लाख रुपैयाँ छुट्याए पनि दिएको छैन । त्यसैगरी पोखराकै भण्डारढिकमा महिला र पुरुष रग्बी खेलाउने भने पनि पूर्वाधार छैन ।
६ वटै कोर्टमा प्रतियोगिता खेलाउने योजना रहेको टेनिस कोर्टको लागि सुर्की, नेट, चुना आवश्यक पर्छ । ब्याडमिन्टन हलको समस्या पनि उस्तै छ । हलबाट पानी चुहिने मात्र होइन, उज्यालोको उचित व्यवस्थापन पनि भएको छैन ।
महिला क्रिकेटका लागि क्रिकेट मैदान आउट फिल्ड पूर्णरुपमा बनाइएको छैन । गल्फ खेलका लागि हिमालय गल्फ कोर्समा खेलाइने भने पनि अहिलेसम्म मैदान बुक गरिएको छैन ।
भारोत्तोलन, आर्चरी, फेन्सिङ, स्वीमिङलगायत धेरै खेलका पूर्वाधार निर्माण तथा मर्मतसम्भार भएका छैनन् । राखेपले बजेट विनियोजन र समन्वय नगरेको गुनासो संघहरुको छ । राखेपले भने नयाा आर्थिर्क वर्षको शुरुवात भएकाले केही समस्या भए पनि अब भुक्तानी नरोकिने दाबी गरेको छ ।
प्रतियोगितामा समावेश ३६ मध्ये अधिकांश खेल पोखरामा हुँदैछन् । प्रदेशमा ३९ वर्षपछि हुन लागेको प्रतियोगिताबाट नयाँ खेल पूर्वाधार थपिने अपेक्षा थियो । तर प्रतियोगिता लक्षित कुनै पनि नयाँ खेल पूर्वाधार नबन्दा खेलप्रेमी निराश देखिन्छन् ।