७ बैशाख २०८२, आईतवार

घर फर्कनेको लर्को, एकैदिन काठमाडौंबाट दुई लाख यात्रु बाहिरिए

bus

गाउँ, शहरमा दसैँको रमझम बेग्लै छ । शिक्षा, रोजगारी तथा व्यवसाय लगायतका कारणले काठमाडौं उपत्यकामा बस्दै आएकाहरु दसैं मनाउन धमाधम गृह जिल्ला फर्किरहेका छन्।

आज मात्रै दुई लाख यात्रु काठमाडौंबाट बाहिरिएका छन् । घर फर्कनेलाई चाडपर्वको उमंग त छ नै, कतिपयलाई भने सजिलैसँग जान नपाएकोमा चिन्ता र आक्रोश पनि देखिन्छ ।

काठमाडौंको कोटेश्वर-जडीबुटीमा झिसमिसेमै घर जानेको भीड। सबैले गाडी पर्खिरहेका छन् । धेरैलाई परिवार र आफन्तसँग दसैँ मनाउन घरपुग्ने हतारो अनि उत्साह देखिन्छ ।

काठमाडौंकै नयाँ बसपार्क र कलंकी नाकाबाट उपत्यका क्षेत्र छाड्नेको पनि लर्को छ । हिन्दुहरुको मुख्य पर्व दसैँ नवदुर्गा भवानीको पूजा,आफन्तजनबाट टिका, जमरा र आशीर्वाद अनि भेटघाट र रमाइलोको पर्व हो । त्यसैले कार्य व्यस्तताले टाढा रहेकाहरु पनि दसैँ मनाउन घर फर्कन्छन्।

कतिपयलाई भने टिकट नपाउँदा कसरी समयमै घर पुग्ने भन्ने चिन्ता देखिन्छ । दसैँ सुरु भएसंगै दैनिक सरदर ६० देखि ७० हजार यात्रु काठमाडौंबाट बाहिरिएको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ।

दसैँ मनाउन घर फर्किँदा यात्रुले टिकट नपाएको, चर्को शुल्क तिर्नुपरेको जस्ता गुनासा कम गरी यात्रा सहज बनाउन सरकारी प्रयास भने फितलो देखिएको छ ।