
यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११:५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
बिहान १०:३४ बजे देवी विसर्जन गरी ११:५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ ।
पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए ।
राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका, प्रसाद थाप्नुपर्ने उनले बताए । देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ । केही भागमा भने विजयादशमीका दिनमात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिन्छ ।
नेपालमा राष्ट्रिय चाडका रूपमा दशैँ मनाउने गरिन्छ । दशैँमा वातावरण नै उल्लासमय बन्छ । विभिन्न पेशा र व्यवसायका क्रममा थातथलोभन्दा टाढा रहेका नेपाली मान्यजनको आशीर्वाद थाप्न घर फर्कने गर्छन् । शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैँमा विशेषगरी नवदुर्गा भवानीको विशेष पूजा, आराधना गरिन्छ ।
बडा दशैँका अवसरमा राम्रो लगाउने र मीठो खाने पर्वका रूपमा पनि यसलाई उल्लासमय वातावरणमा मनाइन्छ । दशैँमा विशेषगरी बालबालिकाले पिङ खेल्ने, चङ्गा उडाउने गर्छन् । दशैँ पर्व बालबालिकाकै लागि हो भन्ने उखान पनि नेपाली समाजमा रहेको छ । बालबालिकाले रमाइलो गर्ने यो पर्वलाई प्रौढले भने देवीको पूजा, उपासना गरी मनाउँछन् ।
साइत किन जुराइन्छ ?
साइत जुराउनुलाई “उखुको लाँक्रामा पनि सबैभन्दा गुलियो भाग खोज्नु”सँग तुलना गर्छन् ज्योतिषी अधिकारी। भन्छन्,”विजया दशमी आफैमा शुभ दिन हो। त्यस दिनमा पनि सबैभन्दा उचित पल कुन हो भनेर खोज्नु नै साइत जुराउनु हो।”
दशमीको दिन त्यसरी जुराइएको समयमा दुर्गाको प्रसादका रूपमा टीका, जमरा ग्रहण गर्नु “ज्यादै राम्रो हुने” अधिकारीको धारणा छ।
यद्यपि, टीका लगाउनका निम्ति साइतसँगै व्यावहारिकतालाई पनि ध्यान दिनु पर्ने उनले बताए। भने,”आफ्नो अनुकूलता र सहजता पनि हेरिनुपर्यो।”
साइत जुराउँदा के हेरिन्छ ?
सामान्यतया दशैँको तिथि अनुसार मनाइने बताउँछन् अर्का ज्योतिषी सुरेशचन्द्र रिजाल। तिथि, बार र नक्षत्रले अर्थ राख्ने भए पनि सबैभन्दा बढी महत्त्व लग्नको हुने उनी बताउँछन्।
लग्नले ग्रह सबैभन्दा बलियो भएको क्षणलाई बुझाउने रिजालले बताए। लग्न निर्धारण गर्दा सूर्यको प्रमुख भूमिका रहन्छ।
त्यस्तै उपयुक्त साइत जुराउँदा नौ वटा ग्रहहरू कति बलवान् स्थानमा छन् भन्ने कुरा समेत मापन गरिने ज्योतिषी रिजालले बताए। उनले भने,”त्यसलाई नवमांश भनिन्छ। यो ग्रहहरूको बल नाप्ने निकै छोटो पद्धति हो।”