
निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारी पुरा भएको जनाएको छ ।
आयोगले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी निर्वाचन तयारीका सम्पूर्ण काम पुरा भएको र भोलि प्रत्यक्ष तर्फको मनोनयन दर्ता भएसँगै दोस्रो चरण अर्थात् निर्वाचनको चरणमा प्रवेश गर्ने जनाएको हो ।
आयोगले निर्वाचन मिति घोषणा भएपछि हाल निर्वाचनका लागि आवश्यक सामग्रीहरूको खरिद तथा ढुवानीको काम सम्पन्न गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय मार्फत् व्यवस्थापनका कामहरू भइरहेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
आयोगले प्रतिनिधि सभा र प्रदेश सभा दुवै तर्फको मनोनयन देशभर एकै दिन सम्पन्न गर्न सक्ने गरी आवश्यक संरचना, जनशक्ति र सुरक्षा प्रबन्ध मिलाइसकेको जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले निरन्तरको वर्षा र बाढी पहिरोका कारण भोलि हुने मनोनयन दर्ताको कार्यक्रम प्रभावित हुन नदिन राजनीतिक दलहरूसँग निरन्तर परामर्श गरिरहेको र सहजिकरणका लागि आयोग लचिलो रहेको पनि बताउनुभयो ।
आयोगले यस अगाडि सम्पन्न भएका निर्वाचन तथा यसै निर्वाचनको समानुपातिक तर्फको मनोनयनका लागि दुई दिनको समय दिएको भए पनि प्रायः सबै दलहरूले अन्तिम समयमा मात्रै मनोनयन गर्ने गरेका कारण यस पटक आयोगले एकै दिन प्रतिनिधि सभा र प्रदेश सभाको मनोनयन दर्ता गर्ने कार्यक्रम राखेको प्रमुख आयुक्त थपलियाले स्पष्ट पार्नुभयो ।
निर्वाचन आयोगले भोलि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म देशभरका मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय मार्फत उम्मेदवारी दर्ता गर्ने समय तोकेको छ ।
यस्तै उम्मेदवार निर्वाचन अधिकृतको कार्यालयमा आफैँ उपस्थित हुन नसके प्रतिनिधि वा वारेस मार्फत पनि उम्मेदवारी दिन सकिने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनुभयो ।
यस्तै आयोगले निर्वाचनका दिन मतदाता तथा सर्वसाधारणको आवागमनलाई सहज बनाउन मङ्सिर ४ गते अर्थात् निर्वाचनको दिन सीमित सार्वजनिक सवारी साधन चल्न दिने समेत निर्णय गरेको प्रमुख आयुक्त थपलियाले बताउनुभयो ।