
प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि खोटाङका दलहरूलाई मनोनयन दर्ताको चटारो लागेको छ । एमालेका उम्मेदवारले आइतबार दिउँसो १ बजे मनोनयन दर्ता गर्ने तयारी गरेका छन् ।
गठबन्धनका उम्मेद्वारले मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयसमक्ष दिउँसो ३ बजेको समय माग गरेका छन्।
गठनबन्धनको निर्णयविरुद्ध असन्तुष्ट कांग्रेस नेताले पनि छुट्टै मनोनयन दर्ताको तयारी गरेका छन् । मनोनयन दर्ताका लागि नेता तथा कार्यकर्ताको उपस्थितिले दिक्तेल बजारमा चहलपहल बढेको छ ।
एमालेले प्रतिनिधिसभा सदस्यमा विशाल भट्टराई, प्रदेश सभा ‘क’मा पाँचकर्ण राई पिके र प्रदेश सभा ‘ख’ मा रामप्रसाद दंगाललाई टिकट दिएको छ ।
गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका रामकुमार राईले टिकट पाएका छन् । यस्तै, गठबन्धनबाट प्रदेश सभा ‘क’मा एकीकृत समाजवादीका वीरबलकाजी राई र प्रदेश सभा ‘ख’ नेपाली कांग्रेसका भूपेन्द्र राईले टिकट पाएका छन् ।
यद्यपि, गठबन्धनको निर्णयप्रति असहमति जनाउँदै असन्तुष्ट कांग्रेसले प्रतिनिधिसभा र दुवै प्रदेश सभामा आफ्नै उम्मेदवार उठाउने जनाएको छ ।
जिल्ला कार्यसमितिको बैठक बसेर संघ र दुई प्रदेशमा आफ्नै उम्मेदवार उठाउने तयारी गरिएको कांग्रेस जिल्ला सभापति विष्णुकुमार राईले बताए ।
एमालेको मनोनयन दर्ता
खोटाङमा नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । ४ मंसिरका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एमालेले आइतबार जिल्ला अदालतमा स्थापना गरिएको मुख्य निर्वाचनको अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।
प्रतिनिधिसभा सदस्यका लागि विशाल भट्टराई तथा प्रदेशसभा ‘क’मा पाँचकर्ण राई पिके र प्रदेशसभा ‘ख’मा रामप्रसाद दंगालले उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन दर्ताका लागि उनीहरु र्यालीसहित मुख्य निर्वाचनको अधिकृतको कार्यालय पुगेका थिए ।
यस्तै, गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा उठेका नेकपा माओवादी केन्द्रका रामकुमार राई (पासाङ), प्रदेशसभा ‘क’मा नेकपा (एकीकृत समाजवादी)बाट उठेका वीरबलकाजी राई र प्रदेशसभा ‘ख’ नेपाली कांग्रेसबाट उठेका भूपेन्द्र राईले दिउँसो तीन बजे मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।
गठबन्धनको निर्णयप्रति असहमती जनाउँदै असन्तुष्ट कांग्रेसले पनि प्रतिनिधिसभा र दुबै प्रदेशसभामा छुट्टै मनोनयन दर्ताको तयारी गरिरहेको छ ।