
नेपाली समाजमा कहिँ नभएको जात्रा हाँडिगाउँमा भन्ने चर्चित उखान छ । तर यो उखान मात्र नभएर काठमाडौंको हाँडिगाउँका नेवार समुदायले मनाउने परम्परागत जात्रा नै हो ।
यो जात्राको वास्तविक नाम चाहिँ चोक्टे नारायणको खट जात्रा हो । ब्रम्हा, विष्णु, महेश्वरको प्रतीक मानिने नारायणको खटको गजुर तलतिर फर्किएको र देवता माथि रहेको खट जात्रा गरी चोक्टे नारायणको जात्रा आज मनाइएको छ । फरक प्रकृतिको भएकाले यो जात्रालाई कहिँ नभएको जात्रा हाँडीगाउँमा भनिएको हो ।
सामान्यतया धार्मिक जात्रा, पर्वमा देवी देवताको खटको गजुर माथि राखिएको हुन्छ । तर काठमाडौंको हाडीगाउँमा मनाइने चोक्टे नारायणको जात्रामा भने ठीक उल्टो देवताको खटको गजुर तलतिर फर्किएको र देवतालाई माथितिर राखिएको हुन्छ ।
ब्रहा, विष्णु र महेश्वरको प्यागोडा शैलीमा बनाइएको खट मैनको फूलले सजाएर बनाएको चोक्टे नारायणको खट जात्रालाई कहिँ नभएको जात्रा हाडीगाउँको भन्ने प्रचलन छ । यो खटलाई टोलटोलमा घुमाएर जात्रा मनाइन्छ ।
हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट चोक्टे नारायणको जात्रा मनाउने परम्परा छ । खटमाथि नाइके र अन्य दुई जना बस्ने र दुई जनाले डोरी तातेर मन्दिररुपी खटलाई घुमाउने चलन छ ।
