
कोरोना भाइरस संक्रमणका कारण बुधबार साँझ ललितपुरमा एक जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ।
ललितपुर महानगरपालिका-२२ का ५७ वर्षीय पुरुष ललितपुरको किष्ट अस्पतालमा उपचार गराइरहेका बुधबार साँझ कोरोना संक्रमणका कारण निधन भएको हो ।
बुधबारै आएको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ नै रहेको स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले मृत्यु भएको बताए ।
उनमा कोरोना संक्रमण भएको पुष्टि मृत्युपछिमात्रै भएको थियो। ‘आज साँझ रोग नियन्त्रण महाशाखाबाट मलाई खबर आयो। मृत्यु भएका व्यक्तिको स्वाब परीक्षण नतिजा पोजिटिभ आयो, त्यसैअनुसार शव व्यवस्थापनको तयारी गर्नुस् भनिएको छ,’ उनले भने, ‘हामीले शव अस्पतालमै राखेका छौं। भोलि कार्यविधिअनुसार शव व्यवस्थापनको काम हुन्छ।’
मृतक ललितपुर महानगरपालिका वडा २२ का बुंगमतीका स्थानीय रहेको बताइएको छ। उक्त क्षेत्रबाट प्रतिनिधि सभा सदस्य रहेकी पम्फा भुसालले कोरोनाका कारण एकजनाको मृत्यु भएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेकी छिन्।

डा. गेलालका अनुसार, मृत्यु भएका व्यक्ति कलेजोका बिरामी थिए। उनी जेठ ११ गते अस्पताल भर्ना भएका हुन्। उनको स्वाब यही जेठ १२ गते परीक्षणका लागि पठाइएको थियो।
उनको बुधबार किस्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र कारोनाको आशंकामा स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर टेस्ट गराउँदा कोरोना पोजेटिभको रिपोर्ट आएको हो । मृतक लिभरसम्बन्धी रोगबाट ग्रस्त थिए ।
मृतकमा कोरोना पुष्टि भएसँगै बुङमती क्षेत्रमा मानिसहरुको हिँडडुलमा कडाई गरिएको छ। कसैलाई पनि घरबाहिर ननिस्कन भनिएको डा खगेश्वर गेलालले बताए ।
अब भोलिबाट ट्रेसिङको काम सुरु हुन्छ। त्यसपछि मात्रै उनलाई कसरी कोरोना लाग्यो भनेर थाहा पाउन सकिएला।
मृतकका ज्वाइँ राजीव शाक्यले मृत्यु भएको पुष्टि गरे पनि कोरोना संक्रमण पोजेटिभ देखियो भन्ने रिपोर्ट आफूहरूले नपाएको बताए।
‘हामीले आधिकारिक कागज मागेका छौं, तर दिएका छैनन्,’ उनले भने, उहाँ कतै बाहिर जानुभएको छैन। बिरामी मान्छेलाई कसरी कोरोना सर्यो थाहा छैन।
‘भेण्टिलेटरमा सारेकै दिन उनको थ्रोट स्वाब प्रयोगशालामा पठाइएको थियो । तर बुधबार दिउँसो ४ बजेर ५ मिनेटमा उहाँको डेथ भयो,’ किष्टमा कार्यरत एक चिकित्सकले भने ‘अहिले ८ बजे रिपोर्ट पोजेटिभ आयो।’
मृतककाे शव अस्पतालमै रहेको छ । ललितपुरमा हालसम्म एकजनामा मात्रै कोरोना संक्रमण देखिएको थियो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि सिन्धुपाल्चोक, गुल्मी, बारा र बाँकेका १–१ जनाको मृत्यु भइसकेको छ।