
सरकारले नदी नियन्त्रणका लागि रु ६ अर्ब २० करोड विनियोजन गरिको छ । आर्थिक वर्ष २०७७/०७८ को वजेट विनियोजन गदै अर्थमन्त्री युवराज खतिवडाले सरकारले नदी नियन्त्रणका लागि सरकाले ६ अर्ब २० करोडको बजेट विनियोजन गरेको बताए ।
महाकाली सिँचाइ आयोजना अब राष्ट्रिय गौरवको आयोजना
सरकारले महाकाली सिँचाइ आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा सूचीकृत गर्ने भएको छ ।
बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस आयोजनालाई उच्च प्राथमिकता दिएका छन् । यस आयोजनालाई सरकारले आगामी आगामी आर्थिक वर्षमा १० अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
महाकाली सिँचाइ आयोजना रणनीतिक महत्वको आयोजनासमेत हो ।
सुनकोशी–मरिन डाइभर्सन आयोजनालाई साढे २ अर्ब
सरकारले सुनकोशी–मरिन डाइभर्सन (नदी पथान्तरण) बहुउद्देश्यीय आयोजनाको लागि २ अर्ब ४६ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
आगामी आर्थिक वर्ष ०७७/७८ का लागि संसदमा प्रस्तुत बजेटमा अर्थमन्त्री युवराज खतिवडाले सुनकोशी–मरिन आयोजनाका लागि २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।
यो आयोजना मुख्य रूपमा सिंचाइमा केन्द्रित छ । तर पानी डाइभर्सन गर्दा बिजुली पनि उत्पादन हुने भएकाले यसलाई बहुउद्देश्यीय आयोजना भनिएको हो ।
यो आयोजनालाई २ नम्बर प्रदेशको कृषि क्षेत्र सुधारको अभियानका रूपमा ब्याख्या गरिँदै आएको छ । प्रदेश–३ को जलस्रोतलाई २ नम्बर प्रदेशमा पुर्याएर कृषि उत्पादन बढाउन आयोजना फलदायी हुने दाबी सरकारको छ ।
करिब ४६ अर्ब लागतको यो आयोजना निर्माणका लागि सुरुङमार्गको डिजाइन सकिएको छ । अहिले बाँधस्थलको डिजाइनको पुनरावलोकन भइरहेको छ । यो आयोजनाका लागि सुनकोशीबाट मरिनसम्म १३ किलोमिटरको सुरुङ निर्माण गर्नुपर्नेछ ।
तामाकोशी र सुनकोशी मिसिने स्थानभन्दा ७ सय मिटर तल बाँध बाँधेर सुनकोशीको पानी सुरुङमार्फत मरिनमा खसालिनेछ । मरिनको पानी बागमतीमा पुग्नेछ र बागमती सिंचाइ आयोजनामार्फत थप एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिंचाइ सुविधा पुर्याउन सकिनेछ । मरिनमा खसेको पानी ४० किलोमिटर तल बागमती नदीमा बाँधिएको बाँधमा पुगेर सिंचाइ नहरमा लगिनेछ ।
मरिनमा पानी खसाल्दा विद्युत गृह पनि बनाएर २९ मेगावाट बिजुली उत्पादन गर्ने योजना छ । आयोजनाबाट उत्पादित बिजुली रािष्ट्रय प्रसारण लाइनमा जोडिनेछ । यो आयोजना बनेपछि सुनकोशीको ६४ क्युबिक मिटर प्रतिकेन्ड पानी मरिनमा झर्नेछ ।
आयोजनालाई ‘राष्ट्रिय गौरवको आयोजना’मा समावेश गर्ने घोषणा चालु आर्थिक वर्षको बजेटमै भएको थियो । सरकारले चालु आर्थिक वर्षको बजेटमा यो आयोजनाका लागि २ अर्ब ८ करोड बजेट छुट्याइएको थियो ।
यो आयोजनाको सुरुङ अमेरिकन प्रविधिको टनेल बोरिङ मेसिन (टीबीएम) मार्फत नै खनिने छ । भेरी–बबई आयोजनामा सफल भएपछि दोस्रोपटक सिंचाइ विभागले सुनकोशी मरिनमा टीबीएम मेसिन प्रयोग गर्ने निर्णय लिएको हो ।