७ बैशाख २०८२, आईतवार

एसका अध्यक्ष नेपालमाथि अनुसन्धान अघि बढाउन पत्रचार गरिएको हो, कारबाही गर्न होइन: निर्वाचन आयोग

nepal elecion commison

निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि कारबाही गर्न नभई अनुसन्धान अघि बढाउन पत्रचार गरिएको स्पष्ट पारेको छ ।

मतदाता प्रलोभन कसुरमा अध्यक्ष नेपालमाथि अनुसन्धान गर्न निर्वाचन आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्राचार गरेको जनाएको छ ।

आयोगले गरेको पत्राचारका आधारमा प्रहरीले अनुसन्धान मात्रै गर्नसक्ने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले बताउनुभयो ।

‘निर्वाचन आचार संहिता उल्लंघनमा आयोगले नै अनुसन्धान गर्छ र प्रलोभन देखाएर मत माग्ने विषय कसुर भएकाले कसुरउपर अनुसन्धान गर्न प्रहरीलाई भनेका हौं,’ भट्टराईले बताउनुभयो ।

आयोगलाई प्राप्त विवरण निर्वाचन कसुरअन्तर्गत हो वा होइन भन्ने अनुसन्धान गरी जानकारी गराउन पत्राचार गरिएको उहाँले प्रष्ट पार्नुभयो ।

निर्वाचन आयोगले भने अध्यक्ष नेपाललाई पक्राउ वा कारबाहीका लागि प्रहरीलाई पत्राचार नगरेको उहाँले बताउनुभयो ।

रौतहटमा आयोजित कार्यक्रममा मतदातालाई प्रलोभन पार्ने गरी वक्तव्य दिएको भन्दै बिहीबार आयोगले अध्यक्ष नेपाललाई स्पष्टीकरण समेत सोधेको छ। तर स्पष्टीकरणको जवाफको मौका समेत नदिई कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई पत्रचार गरेकोप्रति एकीकृत समाजवादीले आपत्ति जनाएको छ ।