
नेकपा एकीकृत समाजवादीले स्पष्टीकरण नबुझाउदै अध्यक्ष माधवकुमार नेपालाथि निर्वाचन आयोगले कारबाही प्रक्रिया अघि बढाएकोप्रति आपत्ति जनाएको छ ।
रौतहट १ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवार समेत रहनुभएका अध्यक्ष नेपालले निर्वाचन आचारसंहिताविपरितको गतिविधि गरेको आरोप लगाउदै आयोगले कारबाही प्रक्रिया अघि बढाएको भन्दै एकीकृत समाजवादीले आपत्ति जनाएको हो । अध्यक्ष नेपालले मतदातालाई प्रभावित पार्ने अभिव्यक्ति दिएर निर्वाचन आचारसंहिताको उल्लंघन गरेको भन्दै आयोगले आवश्यक कारबाहीका लागि रौतहट प्रहरीलाई पत्रचार गरेको हो ।
स्पष्टीकरण बुझाउन पाउने प्रावधान हुँदा हुँदै आयोगले एकपक्षीय रुपमा कारवाही प्रक्रिया अघि बढाएको एकीकृत समाजवादीले दाबी गरेको छ ।
आयोगको यो कदम राजनीतिक प्रतिशोधपूर्ण भएको भन्दै एकीकृत समाजवादीले भत्सर्ना समेत गरेको छ । अध्यक्ष नेपालविरुद्धको कारबाही प्रक्रिया तत्काल रोक्न पनि उसले आयोगसँग माग गरेको छ ।
आफूले जितेमा युवालाई वैदेशिक रोजगारीको व्यवस्था गर्ने अभिव्यक्ति दिएको भन्दै रौतहट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपालसँग आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर स्पष्टीकरण नबुझाउदै आयोगले आवश्यक कारबाहीका लागि रौतहट प्रहरीलाई पत्राचार समेत गरेकोप्रति एकीकृत समाजवादीले आपत्ति जनाएको हो ।