
सरकारले चालू वर्षको तुलनामा शिक्षामा ८ अर्ब बजेट बढाएको छ।
आगामी वर्षका लागि संघीय संसदमा बजेट प्रस्तुत गर्दै डा. युवराज खतिवडाले आगामी वर्षका लागि शिक्षातर्फ १ खर्ब ७१ अर्ब बजेट विनियोजन गरेको जानकारी दिएका छन्।
चालू वर्षका लागि यस्तो बजेट १ खर्ब ६३ अर्ब विनियोजन गरिएको थियो।
मदन भण्डारी विश्वविद्यालय खोल्न एक अर्ब २५ करोड
सरकारले आउँदो वर्ष मदन भण्डारी प्रौद्योगिक विश्वविद्यालयको पूर्वाधार निर्माण गर्न एक अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आवको बजेट प्रस्तुत गर्दै प्राविधिक तथा व्यावहारिक शिक्षाका लागि मदन भण्डारी प्राविधिक विश्वविद्यालय सञ्चालन गर्न एक अर्ब २५ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।
उनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको सुधार तथा पारमाणविक प्रयोगशाला स्थापनाका लागि आवश्यक बजेट व्यवस्थापन गरेको बताए ।
यस्तै, दुई प्रदेशमा विधिविज्ञान प्रयोगशाला स्थापनाका लागि बजेटको व्यवस्था गरेको बताए ।
बाल संरक्षण अनुदानको दायरा फराकिलो
सरकारले दलित, कर्णाली र मधेशी क्षेत्रका गरिबीका रेखामुनि परेका बालबालिकाका समेट्ने गरी बाल संरक्षण अनुदानको दायरा फराकिलो बनाउने बताएको छ ।
यसको लागि सरकारले तीन अर्ब ७६ करोड रुपैयाँ विनियोजन गरेको छ । यसबाट झण्डै १३ लाख बालबालिका लाभान्वित हुनेछन् । विशेष संरक्षण आवश्यक भएका अनाथ तथा अति जोखिममा परेका र एचआईभी संक्रमित बालबालिकाको लागि भरपर्दो सामाजिक सुरक्षा प्रदान गर्न सामाजिक संस्थाको पनि प्रयोग गरिने भएको छ ।
असहाय, बेवारिसे, संक्रमित र आश्रयविहिन व्यक्तिलाई संरक्षण र हेरचाह गर्दै देशलाई सडक मानवमुक्त बनाइनेछ । यसैगरी भौतिक पूर्वाधार अपाङ्गमैत्री बनाइनेछ । उनीहरुको लागि शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक क्षेत्रमा सम्मानजनक पहुँचको व्यवस्था गरिने पनि अर्थमन्त्री युवराज खतिवडाले बताउनुभएको छ ।
दृष्टिबिहीनले प्रयोग गर्ने सेतोछडी र ब्रेललिपी पाठ्यक्रम निःशुल्क उपलब्ध गराइनेछ । सांकेतिक भाषाको विकास तथा अनुसन्धानलाई प्रोत्साहन गरिनेछ ।