
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तीन दिदीबहिनीबाट भाइटीका लगएका छन् ।
अध्यक्ष ओलीले बालकोटस्थित आफ्नै निवासमा विष्णुमाया ढकाल, कौशिल्या कोइराला र कान्छी बहिनी विष्णु ओलीद्वारा भाइटीका ग्रहण गरेको उनको सचिवालयले जनाएको छ ।
यस्तै, नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बहिनी पार्वती भट्टराईको हातबाट टीका ग्रहण गरेका छन् ।
टीका ग्रहणको तस्विर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै उनले लेखेका छन्-“संयुक्त परिवारमा उल्लासमय भाइटीका!बहिनी पार्वती भट्टराईबाट मैले र भाइले टीकाग्रहण! मानुषी,प्रेरणा र अस्मिताद्वारा दाज्यु र भाइहरू प्रेरित,अनुप र संकल्पलाई भाइटीका !”
यस्तै, नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले टीकाको साइतमा आफ्नो निवास काठमाडौंको धापासी भाइटीका ग्रहण गरेका हुन् ।
पोखरेललाई दिदीहरू सावित्रा दाहाल र मेनका पौडेलले भाइटीका लगाइदिनुभएको उनको सचिवालयले जनाएको छ ।





