
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना शीर्ष स्थानमा फर्किएको छ ।
लिजेण्ड डिफेन्डर जेरार्ड पिकेको अन्तिम बिदाइ गेमसमेत रहेको यो खेलमा बार्सिलोनाले २–० को जित हात पार्यो ।
ला लिगामा गएराति अल्मेरियालाई २–० गोलले हराउँदै बार्सिलोना शीर्ष स्थानमा पुगेको हो । घरेलु मैदान नाउ क्याम्पमा बार्सिलोनाको जितमा ओउस्माने डेम्बेले र फ्रेन्की डी जोङले एक(एक गोल गरे ।
जितसँगै बार्सिलोनाले १३ खेलबाट ३४ अंक जोडेको छ । एक खेल कम खेलेको रियलको ३२ अंक छ ।
खेलपछि बार्सिलोनाका जेरार्ड पिकेले औपचारिक सन्यास लिएका छन् । आफ्नो बिदाइ खेलमा पिकेले ८४ मिनेट मैदानमा बिताएका थिए । उनको सम्मानमा स्ट्यान्डिङ ओभिएसन दिइएको थियो ।
पिकले म्यानचेस्टर युनाइटेडमा चार वर्ष बाहेक सबै समय क्याटलान क्लबमै व्यतित गरेका थिए । उनले ३५ वर्षको उमेरमा अघिल्लो दिन संन्यास लिग घोषणा गरेका थिए । बार्सिलोनामा रहँदा उनले च्याम्पियन्स लिग, ला लिगा र कोपा डेल रेको गरि ३० उपाधि जितेका थिए ।
बिदाइका क्रममा निकै भावक बनेका पिके सम्हालिन सकेनन् र रुन पुगे । जुन दृश्यले स्टेडियममा केहीबेर सन्नाटा नै छाएको थियो ।
बिदाई खेलपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूलाई बार्सिलोनाले जन्माएको र यही मर्ने बताए । ‘म बार्सिलोनामा जन्मिएँ । यहीँ मर्नेछु,’ उनले भने ।
स्पेनिस राष्ट्रिय टोलीमा भरपर्दा डिफेन्डर रहेका पिकेले हालै खेल जीवनबाट सन्यास लिने घोषणा गरेका थिए । सन् २०१० को फिफा विश्वकप र सन् २०१२ को युरोपियन च्याम्पियनसिपको उपाधि हात पार्न उनको पफमेन्सले काम गरेको थियो ।
सन् २०१८ मा पिकेले राष्ट्रिय टोलीबाट सन्न्यास लिएका थिए । उनले स्पेनबाट १०२ खेलमा सहभागिता जनाउँदै पाँच गोल गरेका छन् ।
ला लिगाकै अन्य खेलमा ओसासुनाले सेल्टा भिगोलाई र रियल भालाडोलिडले इल्चेलाई समान २१ ले हराउँदा गेटाफे र कार्डिजले गोलरहित बराबरी खेले ।




