
बंगलादेशलाई पाँच विकेटले पराजित गर्दै पाकिस्तान आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको सेमिफाइललमा प्रवेश गरेको छ ।
बंगलादेशले प्रस्तुत गरेको १२८ रनको लक्ष्य पाकिस्तानले १८.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । पाकिस्तानले सेमिफाइनलमा ग्रुप वानको विजेता न्युजिल्यान्डको सामना गर्नेछ । भारतले भने सेमिफाइनलमा इंग्ल्यान्डको सामना गर्नेछ ।
पाकिस्तान ग्रुप टू को उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो । पाकिस्तानले ५ खेलमा ६ अंक जोड्यो । शीर्ष स्थानको भारतको ४ खेलमा ६ अंक छ ।
पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवानले ३२ बलमा २ चौका र १ छक्का मद्दतमा ३२ रनको योगदान गरे । मोहम्मद हरिसले १८ बलमा १ चौका र २ छक्का मद्दतमा ३१ रन बनाए । यसैगरी कप्तान बाबर आजमले २५ र सान मन्सुदले अविजित २४ रन जोडे ।
बंगलादेशका लागि मुस्ताफिजुर रहमान, साकिब अल हसन, नासुम अहमेद र इबादत हुसेनले समान १ विकेट लिए ।
समूह चरणको अन्तिम खेलमा टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय २७ रनको योगफल खडा गरेको थियो ।
बंगलादेश १० ओभरमा ७०–१ को बलियो स्थितीमा रहेको थियो । बंगलादेशका लागि ओपनर नाजमुल हुुसेन सान्टोले ४८ बलमा ७ चौका मद्दतमा ५४ रन जोडे । त्यस्तै सरकारले २० रन जोडे । पाकिस्तानका साहिन शाह अफ्रिदीले ४ र सडाब खानले २ विकेट लिएका थिए।
सुपर १२ को समूह ए बाट न्युजिल्यान्ड शीर्ष र इंग्ल्यान्ड दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका छन् । सुपर १२ को अन्तिम खेलमा जिम्बावे र भारतबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेलको नतिजाले समूह विजेता र उपविजेता निर्धारण गर्नेछ ।
सुपर १२ को समूह बी मा भारत ४ खेलमा ३ मा जित र १ मा हारसहित शीर्षस्थानमा छ । पाकिस्तान ५ खेलमा ३ मा जित र २ हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान पक्का गर्यो । भारत विजयी हुँदा समूह विजेता बन्नेछ । पराजित हुँदा उपविजेता बन्नेछ ।
पहिलो सेमिफाइनल ९ नोभेम्बर र दोस्रो १० नोभेम्बरमा हुनेछ । पहिलो सेमिफाइनल सिड्नी र दोस्रो एडिलेडमा हुनेछ । फाइनल १३ नोभेम्बरमा मेलबर्नमा हुनेछ । सेमिफाइनलमा समूह ए को विजेताले समूह बी को विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा समूह ए को उपविजेताले समूह बी को विजेतासँग खेल्नेछ ।
