९ बैशाख २०८२, मंगलवार

घोषणापत्रमा गरिएका प्रतिबद्धता आफैले पूरा नगर्दा पटकपटकका निर्वाचनमा तिनै एजेण्डा बोक्नुपर्ने बाध्यतामा दलहरु

313031981 1284996625593785 5440836569850912683 n

चुनावी घोषणापत्रमार्फत सबैजसो क्षेत्रमा उल्लेख्य काम गर्ने बाचा गरेका राजनीतिक दलहरुले स्वास्थ्य क्षेत्रमा पनि उलटपुलट गर्ने कार्यक्रम अघि सारेका छन् ।

नागरिकको मौलिक हकभित्र पर्ने स्वास्थ्य क्षेत्र सुधारका लागि यसअघि देखि नै राजनीतिक दलहरुले विभिन्न नारा दिइरहेकै थिए । तर आम नागरिकले सुलभ स्वास्थ्य सेवा पाउन नसकिरहेको अवस्था छ । यसपटक के छन् त स्वास्थ्य क्षेत्रका मिठा कुरा ?

नेपाली कांग्रेले आफ्नो घोषणा पत्रमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित २१ बुँदा समेटेको छ । ‘गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँचः सबैलाई स्वास्थ्य बीमा, सबल स्वास्थ्य प्रणाली’ नारासहित स्वास्थ्य क्षेत्रमा पाँच वर्षभित्र गर्ने कामहरु कांग्रेसले समेटेको छ । ३ वर्ष मूनि र ७३ वर्ष माथिका हरेक व्यक्तिलाई निशुल्क स्वास्थ्य उपचारदेखि शतप्रतिशत नागरिकलाई दश लाख माथिको स्वास्थ्य विमा कार्यक्रममा समेट्ने लक्ष्य सार्वजनिक गरेको छ ।

स्वास्थ्य र पोषण क्षेत्रको बजेट न्यूनतम १० प्रतिशत बनाउने लक्ष्य पनि कांग्रेसको घोषणापत्रमा उल्लेख छ । चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको विद्यमान सेवा सुविधामा १०० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गर्ने घोषणा पनि कांग्रेसको छ ।

नेकपा एमालेले ‘निरोगी नेपाल, सबल नेपाली’ नारा सहित ६० वर्ष माथिका नागरिकलाई उच्च रक्तचाप र मधुमेहको निशुल्क उपचार, पालिकामा आधारभूत तथा प्रदेशमा विशिष्ठकृत अस्पताल निर्माण जस्ता योजना अघि सारेको छ । ‘स्वस्थ महिनावारी, सुरक्षित मातृत्व’ को नीति कार्यान्वयन गर्ने घोषणासहित जोखिममा परेका सुत्केरी र गर्भवती महिलाको निशुल्क हवाई उद्धार गरिने बाचा एमालेले घोषणापत्रमा गरेको छ । महिनावारी हुने उमेर समूहका सम्पूर्ण महिलालाई गुणस्तरीय प्याड वा अन्य वैकल्पिक साधन खरिदका लागि वार्षिक १ हजार ५ सय उपलब्ध गराइने घोषणा पनि एमालले गरेको छ

नेकपा माओवादीले आफ्नो घोषणा पत्रमा ‘गाउँगाउँमा अस्पताल, स्वास्थ्यमा समाजवाद’ नारासहित स्वास्थ्य एजेण्डालाई आफ्नो घोषणापत्रमा समावेश गरेको छ । हरेक पालिकामा आधारभूत स्वास्थ्य संस्था निर्माण, लक्षित समुदायलाई निशुल्क स्वास्थ्य उपचार उपलब्ध गराउने, हरेक पालिकाबाट प्रत्येक वर्ष एक डाक्टर, एक स्टाफ नर्स पढ्न छात्रवृति प्रदान गर्ने, महिलाको प्रजनन् अधिकार सुनिश्चित गर्ने लगायत प्रतिबद्धता नेकपा माओवादीले गरेको छ ।

जनता समाजवादी पार्टीले स्वास्थ्य क्षेत्रका ११ वटा बुँदा समेट्दै घोषणा पत्र सार्वजनिक गरेको छ । स्वास्थ्य विमाको माध्यमबाट जनतालाई निशुल्क आधारभूत स्वास्थ्य उपचारदेखि एयर एम्बुलेन्सको व्यवस्था गर्ने सम्मका प्रतिबद्धता जसपाले गरेको छ । जेष्ठ नागरिक, एकल महिला, बालबालिका, गरिबीको रेखामुनी रहेका दलित र अपाङ्गता भएका व्यक्तिका लागि सबै रोगको निःशुल्क उपचार सेवा उपलब्ध गराउने योजना जसपाको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले बलियो स्वास्थ्य संयन्त्र बनाउने बाचासहित स्वास्थ्यकर्मीहरुको लागि स्वास्थ्य श्रमिक ऐनको निर्माण गर्ने, मानसिक स्वास्थ्यलाई मध्येनजर गर्दै आत्महत्या रोकथाम संयन्त्रलाई सबल बनाउने घोषणा गरेको छ ।

अन्य दल र स्वतन्त्र उम्मेदवारहरुले पनि स्वास्थ्य क्षेत्रमा नागरिकलाई सहज पहुँच पुर्याउने बाचासहित भोट मागिरहेका छन् । पुराना दलले गरेका घोषणा र नयाँ दल र स्वतन्त्र उम्मेदवारहरुले स्वास्थ्य क्षेत्रमा गरेका घोषणाहरु नागरिकलाई स्वास्थ्य क्षेत्रमा सहज पहुँच पुर्याउने उदेश्यकै छन् । तर घोषणापत्रमा गरिएका प्रतिबद्धता आफैले पूरा नगर्दा पटकपटकका निर्वाचनमा तिनै एजेण्डा बोक्नुपर्ने बाध्यतामा दलहरु देखिन्छन् ।