
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै गर्दा ललितपुरको क्षेत्र नम्बर २ का उम्मेद्वारले चुनावी प्रचारलाई तीव्रता दिएका छन् । अघिल्लो चुनावका सहयात्री नै प्रतिस्पर्धामा उत्रिँदा अन्य दल र स्वतन्त्र उम्मेदवारले चुनावलाई थप रोमान्चक बनाएका छन् ।
५ वर्षअघिको निर्वाचनमा सँगै रहेका एकीकृत समाजवादीका कृष्णलाल र एमालेका प्रेमबहादुर महर्जन यस पटक भने प्रतिस्पर्धीको रुपमा आमनेसामने छन् । यसअघि २ पटक यसै क्षेत्रबाट सांसद भएका कृष्णलाल महर्जनले तेस्रो पटक पनि जित्नेमा विश्वस्त छन् भने यसअघिका सहयोद्धालाई विस्थापित गर्न प्रेमबहादुर सक्रिय छन्।
सत्ता गठबन्धन र एमालेका उम्मेदवार मुख्य प्रतिस्पर्धी मानिए पनि उनीहरूलाई अन्य दल र स्वतन्त्र गरी २० उम्मेदवारले चुनैती दिइरहेका छन् । दलहरूले युवा नेतृत्व स्थापित गर्न अरुचि देखाएको र स्थानीय मुद्दालाई महत्व नदिएको भन्दै स्वतन्त्र उम्मेदवारहरु पनि आफ्नो पक्षमा चुनावी माहोल बनाउन सक्रिय छन् ।
प्रतिनिधि सभामा जस्तै प्रदेशसभामा पनि सत्ता गठबन्धन र एमालेकै उम्मेदवारले चुनावलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । प्रदेश सभा १ मा ९ र २ मा ११ गरी बीस जना चुनावी मैदानमा छन् ।
ललितपुर महानगरपालिकाको ९ वटा वटा र महालक्ष्मी नगरपालिकाको १० वटै गरी १९ वडाका ८१ हजार ८ सय ९७ मतदाताले ७ जना स्वतन्त्र सहित २२ जना उम्मेद्वार मध्ये कस्लाई चुन्नेछन् त ?
यस क्षेत्रमा दलहरुले पर्यटन, उद्योग र विकासलाई चुनावमा प्रमुख एजेण्डा बनाएका छन् ।