
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी तीन जनाको निधन भएको छ ।
कैलालीको भजनी नगरपालिका–६ बिस्नापुरस्थित सडकमा ना.८ ख.१३८१ नम्बरको ट्रकले बा.८६ प ३४८७ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा एक जनाको निधन भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सोही नगरपालिका नवलपुर बस्ने २१ वर्षीय अविषेक चौधरी रहेका छन् । उनको घटनास्थलमै निधन भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको नेपालगन्ज अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकमा बा.५ ख ७९४३ नम्बरको बसले बागमती प्रदेश ०३ ००३ प ४९३१ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा एक जनाको निधन भएको छ । निधन हुनेमा मोटरसाइकल चालक हाल पहिचान नखुलेका अन्दाजी ३० वर्षीय पुरुष छन् । उनको घटनास्थलमै निधन भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषाको मिथिला नगरपालिका–९ बडहरी पुलस्थित सडकमा ज.१ त ७८९७ नम्बरको ट्रयाक्टरमा बिआर०३जे २६६७ नम्बरको कार ठोक्किई आइतबार राति दुर्घटना हुँदा एक जनाको निधन भएको छ ।
निधन हुनेमा कारमा सवार सर्लाही कबिलासी नगरपालिका–१० कल्यानपुर बस्ने २५ वर्षीय राजेश राय रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि मोडेल अस्पताल लालगढ धनुषातर्फ लैजाने क्रममा बाटोमै निधन भएको हो । ट्रयाक्टर तथा कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।