
शिख धर्मका प्रवर्तक गुरु नानकको ५५३औँ जन्मजयन्ती मंगलबार विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । उनको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो ।
शिख धर्मग्रन्थ ‘गुरु गन्थ साहिब’ को रचना गरेका नानकले जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको शुरुआत गराएका थिए ।
गुरुका अनुयायी भारत पाकिस्तान लगायत नेपालमा रहेका छन् । गुरु नानक जयन्तीका अवसरमा काठमाडौंको पशुपतिमा ‘गुरु गन्थ साहिब’ पाठ र साधुसन्तलाई भण्डारा गरिएको थियो ।
शिख समुदायका धर्म गुरु गुरु नानकको मंगलबार वीरगञ्जमा ५५३ औं जन्मजयन्ती मनाइदै छ ।
आजको दिनलाई गुरु नानक प्रकाशोत्सव र गुरुपर्व पनि भनिन्छ र संसारभरका शिख धर्मावलम्बीहरूले बडो श्रद्धाका साथ मनाउने गर्दछन् ।
कात्तिक पूर्णिमाकै दिन शिख धर्मका दश विशेष गुरुमध्येका प्रथम गुरु गुरु नानकको जन्म भएको हो ।
शिखहरूको दैनिक पूजाआजाको पवित्र स्थल गुरुद्वारामा धर्मावम्बीहरूले प्रभातफेरीका साथ जन्मजयन्तीको शुरुवात गरियो । प्रभातफेरीमा विभिन्न प्रकारका मन्त्रोच्चारण, भजन र गुरुको महिमाको वर्णन गरिएको थियो ।
विहान भजन गाइयो । जसलाई ‘असा दि वार’ भनिन्छ । यस्ता भेलाहरूलाई ‘अमृत भेला’ भनिन्छ र ‘अमृत भेला’ पछि ‘लंगर’ अर्थात निःशुल्क सामुदायिक भोजन गराइएको थियो ।
यस्ता भोजका आयोजनामा कुनै पनि जात, वर्ण, लिंग वा समुदायका मान्छेलाई त्यसमा सहभागी हुन छुट हुन्छ । यो सामाजिक सहिष्णुताको एउटा अद्भूत उदाहरण त हो नै भक्ति र सेवाको मार्गमा समाजका सबैजना समान छन् भन्ने सन्देश पनि दिएको छ ।
देशका विभिन्न स्थानमा गुरुद्वारा रहेका छन् । ती सम्पूर्ण स्थानमा अनेक कार्यक्रमको आयोजना गरी गुरू नानकलाई सम्झिइने गरिन्छ ।
सभ्य समाज निर्माणका लागि अग्रसर हुन गुरुनानक जयन्तीबाट प्रेरणा मिलाेस् : राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले सिख धर्मावलम्बीको विशेष पर्व गुरुनानक जयन्तीको अवसरमा विश्वभर छरिएर रहनुभएका सम्पूर्ण सिख धर्मावलम्बीलाई सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ।
राष्ट्रपति भण्डारीले जारी गर्नुभएको शुभकामना सन्देशमा भन्नुभएको छ, “समाजमा विद्यमान सबै प्रकारका विकृति, विसङ्गति एवं विभेदको अन्त्य गर्दै समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन गुरुनानक जयन्तीबाट सबैलाई प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएको छु।”
गुरुनानकले समाजमा शान्ति, सद्भाव र लोककल्याणका लागि सबै धर्मका बीचमा सहिष्णुताका लागि गर्नुभएको मार्गदर्शनको परिपालना गर्न सकेमा सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव कायम अभिवृद्धि भई राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास उहाँले व्यक्त गर्नुभएको छ।
हरेक वर्षको कार्तिक शुक्ल पूर्णिमाको दिन सिख धर्मावलम्बीहरूद्वारा आस्था र भक्तिभावका साथ सिख धर्मका प्रवर्तक तथा आदिगुरु गुरुनानकको जन्मजयन्ती मनाउने गरिन्छ। गुरुनानक एक समाज सुधारक धार्मिक गुरु हुनुहुन्थ्यो।
गुरुनानकले समाजमा विद्यमान जातीय एवं लैङ्गिक विभेदका साथै अन्धविश्वास र कुरीति विरूद्ध मानिसलाई सचेत गराउने काम गर्नुभएको थियो। गुरुनानक जयन्तीको अवसरमा आयोजना गरिने विना भेदभाव निःशुल्क सामूहिक भोजन गर्न ‘लंगर परम्परा’ लाई यसैको एक कडीको रूपमा लिन सकिन्छ।