
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय एमालेलाई सिध्याउने प्रयास भएको टिप्पणी गरेका छन् । तर, एमाले सिध्याउने प्रयास भएपनि यसको गौरवपूर्ण इतिहास, बलियो संगठन र जनताको मायाका कारण त्यो दुष्प्रयास सफल नभएको उनको दाबी छ ।
उनले एमालेलाई भित्तामा पुर्याउँछौं, दिउँसै टर्च बालेर खोज्ने गरी सिध्याउँछौं भन्नेहरूको चाहना पूरा हुन नसकेको बताए । सुनसरी निर्वाचन क्षेत्र नं. १ को धरानमा आज (शुक्रबार) आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘हुँडारको शैलीमा एमालेलाई चारैतिरबाट आक्रमण गरेर सिध्याउन खोज्नेहरू त्यसमा असफल भए । बाघ, भालुलगायत हिंश्रक जनावरले पहिले मार्छन्, अनिमात्र खान्छन् तर हुँडारको जत्थाले शिकार गर्दा चारैतिरबाट ज्यूँदै टोकेर खाने गर्छ, गठबन्धन त्यसैगरी एमालेलाई टोकेर सिध्याउन खोज्ने हुँडारको जत्था हो ।’
नेपालको बामपन्थी आन्दोलनलाई अत्यन्त बलियो बनाउने कदमका रुपमा आफूले माओवादी केन्द्रसँग पार्टी एकीकरण गरेको स्मरण गर्दै अध्यक्ष ओलीले विदेशीका लागि कम्फर्टेवल सरकार बनाइदिने नीति, उद्देश्य बोकेका व्यक्तिहरुका कारण त्यो कदम सफल नभएको स्पष्ट गरे ।
उनले भने,‘जङ्गलमा एउटा स्याल कराउँदा वित्तिकै सुनेपछि अर्को स्याल जतिसुकै अफ्ठ्यारो अवस्थामा भए पनि कराउँछ । त्यसैगरी पार्टीभित्र ठाडो घाँटी लगाएर कराउनेको जमात निस्क्यो । मलाई अल्पमतमा छ भन्ने ठान्यो र पार्टी कब्जा गर्नुपर्छ भनेर लाग्यो । विभिन्न आरोप लगायो । महाधिवेशनबाट अध्यक्ष निर्वाचित मलाई सडकबाट नेकपाको साधारण सदस्य समेत नरहने गरी निष्काशनको निर्णय सुनाए ।’