
सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ ।
शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यद्यपि यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुनसक्छ । विज्ञहरुसँग परामर्श गरेर मोडालिटी तय गर्ने एक मन्त्रीले जानकारी दिए ।
साथै हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ सम्म बन्द हुनेछ ।
मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठक अगाडि सुरक्षा परिषद् बैठक बसेको थियो । त्यसको सिफारिस अनुसार मन्त्रिपरिषदले निर्णय गरेको हो ।
सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन जेठ २० गते समाप्त हुँदै थियो । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेपछि सरकारले लकडाउन थप्ने निर्णय गरेको मन्त्री खतिवडाले बताए ।
यस्तै असार १३ गतेसम्म विमानस्थल बन्द गर्ने पनि सरकारले निर्णय गरेको छ । यस्तै विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए ।
सरकारले विदेशमा अलपत्र रहेका नेपालीलाई उनीहरु रहेको देशस्थित नेपाली दूतावासमा नाम दर्ता गराएर प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गरेको छ ।
नेपाल ल्याएपछि काठमाडौंका होटलमा १४ दिन क्वारेन्टाइनमा राखेर मात्र जिल्ला प्रवेश गराउने योजना बनाएको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा सरकारले लकडाउन लम्बाउने निर्णय गरेको हो ।