
म्यूजिक भिडियो हुँदै ‘नाईं नभन्नू ल ४’बाट फिल्ममा चम्किएका अभिनेता पल शाहको जीवनमा यतिबेला ठूलो संकट आएको छ । एक नाबालिगले बलात्कारको जाहेरी दिएपछि उनले ९ महिनादेखि जेल जीवन विताइरहेका छन् । गत भदौमा नवलपुर जिल्ला अदालतले बाल यौन दुरुपयोग मुद्धामा उनलाई २ वर्ष ६ महिना जेल सजाय सुनायो । उनी अहिले तनहुँ जिल्ला कारागारमा छन् ।
नाबालिगले तनहुँ प्रहरी कार्यालयमा जबर्जस्ती करणीको आरोपमा जाहेरी हालेकै दिन पल अभिनीत फिल्म ‘म यस्तो गीत गाउँछु २’को प्रिमियर थियो । तनहुँ प्रहरीले पक्राउ गर्न काठमाडौंलाई पत्रचार गरेपछि पल फरार भए । फिल्म प्रदर्शनको तीन दिनपछि तनहुँ प्रहरीसमक्ष आत्मसमर्पण गरेका उनलाई अब तनहुँ जिल्ला अदालत र उच्च अदालत पोखराबाट सफाई पाउने आशा छ ।
कानुनी झन्झटमा फस्नुभन्दा अगाडि पलले दर्जनौं म्यूजिक भिडियोमा अभिनय गर्ने वचन दिएका थिए भने केही फिल्म साइन पनि गरेका थिए । फिल्म साइन गर्दा उनले निर्माताबाट केही लाख साइनिङ एमाउन्ट समेत बुझेका थिए । म्यूजिक भिडियो त अन्य मोडललाई लिएर पनि निर्माण भए । तर, उनले सम्झौता गरेका ‘दुई नम्बरी’ बाहेक अरु कुनै फिल्म निर्माण हुन सकेका छैनन् ।
पलले ‘म यस्तो गीत गाउँछु २’ रिलिजपछि फिल्म ‘सत्यम्’लाई समय दिने तयारी गरेका थिए । उनले केही दिन धम्पुसमा फिल्मको वर्कसप पनि गरेका थिए । तर, उनी जेल चलान भएपछि यो फिल्मको निर्माण अन्योल बनेको छ । पलले गायक तथा अभिनेता यश कुमारले निर्देशन गर्ने एक फिल्म पनि साइन गरेका थिए । उनी कानुनी झमेलामा फसेपछि यो फिल्म निर्माण हुन सकेको छैन ।
कोरोना महामारीभन्दा अगाडि पलले ‘दुई नम्बरी’को केही प्रतिशत छायांकन गरेका थिए । लकडाउन भएपछि फिल्म रोकियो । त्यसपछि पल कानुनी झमेलामा फसे । पल बाहिर निस्कने टुंगो नभएपछि निर्माण टिमले उनको ठाउँमा सौगात मल्ललाई लियो । यो फिल्म यसपालीको दशैंमा प्रदर्शनमा आइसकेको छ । ‘दुई नम्बरी’का लागि पलले एक चरणको पारिश्रमिक लिइसकेका थिए ।
केन्द्र मोशन पिक्चर्सको एक फिल्ममा पनि पलले काम गर्ने सहमति भएको थियो । गोपीकृष्ण मुभिजको फिल्म ‘पर्खि बसेँ २’मा पनि उनी काम गर्न सकारात्मक थिए । तर, उनी जेल चलान भएपछि यी दुवै फिल्मको निर्माण अन्योल बनेको छ । पलले केही वर्ष अगाडि सुरज सुब्बा नाल्बोको फिल्म ‘हृदय भरी’मा पनि काम गरेका थिए । यो फिल्मको अझै केही प्रतिशत छायांकन बाँकी छ ।
पल जेल चलान हुँदा नेपाली फिल्ममा राम्रो क्रेज भएको चकलेटी हिरोको त अभाव भएको छ नै, उनलाई फिल्ममा साइन गराएका निर्मातालाई समेत ठूलो समस्या परेको छ । केही फिल्मका निर्माता अझै पलको प्रतिक्षामा छन् । यश कुमार, पल निस्किएपछि फिल्म बनाउने योजनामा रहेको जानकारी प्राप्त छ । ‘सत्यम्’का निर्माता पनि पल शाह फर्किने आशामा दिन कुरेर बसेका छन् ।