
नयाँ नक्सा अनुसार नेपालको निशान छाप संशोधनका लागि सरकारले संसद सचिवालयमा दर्ता गरेको संविधान संशोधन विधेयक आजदेखि प्रक्रियामा जाने भएको छ ।
आज विहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले संविधान संशोधन विधेयक पेश गर्ने तयारी गरेको छ। यसअघि १४ गते बुधवार प्रतिनिधिसभा बैठकको कार्यसूचीमा राखिएको संविधान संशोधन विधेयक पेश गर्ने प्रस्ताव कार्यसूचीबाट हटाइएको थियो ।
संविधानको अनुसूचीमा रहेको निशान छापमा नयाँ नक्सा राख्न आज संसदमा संविधान संशोधन प्रस्ताव दर्ता हुने भएको छ ।
नेपालको नक्शामा उल्लेखित अन्तर्राष्ट्रिय सिमानासँग सम्बन्धित निशाना छाप परिवर्तन गर्न सरकारले संविधान संशोधन गर्न लागेको हो । उक्त प्रस्ताव सर्वसम्मत रुपमा पारित गराउन सरकारले सबै दलसँग आग्रह गरेको छ ।
संविधान संशोधनका लागि चाहिने संसदमा दुई तिहाइ मत सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मात्र पुर्याउन सक्दैन । यसका लागि प्रमुख प्रतिपक्षी दल कांग्रेस वा मधेस केन्द्रित दलको सहयोग चहिन्छ।
यसअघी सो प्रस्ताव कार्यसुचिमा परेको भएपनी बुधबार संविधान संशोधन प्रस्तावबाट हटेको थियो। नेपाली कांग्रेसले समय माग गरेपछि उक्त दिन सो प्रस्ताव कार्यसुचिबाट हटेको थियो । बुधबार प्रस्तावित कार्यसूचीबाट हटेपछी भारतिय मिडियाले नेपाली कांग्रेस नक्सा को विपक्षमा रहेको भनि समाचार सम्प्रेशण गरेका थिए ।
सरकारले जेठ ५ गते नेपालको नयाँ नक्सा ल्याउने निर्णय गरेको थियो। भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले लिम्पियाधुरासहित गुञ्जी, नाभी, कुटीलगायत केही भूभाग समेटिएको नेपालको नक्शा (राजनीतिक तथा प्रशासनिक) जेठ ७ गते सार्वजनिक गरिसकेको छ।
