
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो गृह जिल्ला पर्वतको मोदी गाउँपालिका वडा नम्बर ७ राम्जाको पशुपति मावि ञकझ केन्द्रबाट मतदान गरेका छन् । उनले पशुपति केन्द्रबाट बिहान ७३० बजे मतदान गरेका हुन् ।
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना शनिबार आफ्नो गाउँ पुगेका थिए । प्रतिनिधि सभाको १ क्षेत्र तथा प्रदेश सभाका दुई क्षेत्र रहेको पर्वतका सबै मतदान केन्द्रमा मतदान बिहान ७ बजेदेखि मतदान सुरु भइसकेको छ।
प्रधानमन्त्री देउवा:
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रवाट मतदान गरेका छन ।
सत्तारुढ गठबन्धनका साँझा उम्मेदवारसमेत रहेका प्रधानमन्त्री देउवाले गृह जिल्ला पुगेर मतदान गरेका हुन ।
केपी ओली:
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गरेका छन् । उनले भक्तपुर बालकोटस्थित महेन्द्र शान्ति मावि केन्द्रबाट मतदान गरेका हुन् ।
झापा–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओलीले आफैंलाई मत दिन पाएनन् । उनले झापाबाट भक्तपुर बालकोटमा मतदाता नामावली सारेका कारण आफैंलाई मत दिन नपाएका हुन् ।
तर, समानुपातिकतर्फको मत भने दिन पाउनेछन् ।
प्रचण्ड:
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनबाट मतदान गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा २ बाट उम्मेदवार भए पनि उनको मतदाता नामावली चितवनमा थिए ।
अध्यक्ष प्रचण्डले चितवन ३ मा पर्ने भरतपुर महानगरपालिका १४ मा रहेको नेपाल पुलिस स्कुल शान्तिपुरको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।,
उनी यसअघि चितवन ३ बाटै निर्वाचित भएका थिए ।
एमाले सुदूरपश्चिम इन्चार्ज भट्ट:
कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा उम्मेदवार तथा एमालेका सचिव, सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले मतदान गरेका छन् ।
भट्टले कैलालीको गोदावरी नगरपालिकाको घण्टेश्वर मावि मतदानस्थलको मतदान केन्द्र ‘ख’बाट पहिलो मत खसालेका हुन् ।
कैलाली ४ मा एमालेबाट भट्ट र कांग्रेसबाट वीरबहादुर बलायर मुख्य प्रतिस्पर्धी छ।
दीपक बाेहरा:
राप्रपाका नेता दीपक बाेहराले सिद्धार्थनगर ३ सिद्धार्थ रंगशालाबाट मतदान गरेका छन् । पूर्वमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर ३ बाट राप्रपाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका बाेहराले बिहान ७:३० मा मतदान गरेका हुन् ।
माधव नेपाल:
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मतदान गरेका छन् ।
उनल रौतहट १ मा रहेको रामजानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् । यो मतदान केन्द्रबाट नेपालकी पत्नी गायत्री नेपालले पनि मतदान गरेकी छन् ।
नेपाल रौतहट १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।
नारायणकाजी श्रेष्ठ:
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गोरखाबाट मतदान गरेका छन् ।
उनले आफ्नो जन्मथलोसमेत रहेको जौबारीको परोपकार आदर्श मावि ‘क’ मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
रामकुमारी झाँक्री:
नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीले गुल्मीबाट मतदान गरेकी छन् । उनले आज बिहान मदाने ४ म्यालपोखरीमा रहेको मेहलेपोखरी मावि मतदान केन्द्रबाट मतदान गरेकी हुन् ।
गुल्मी-२ बाट झाँक्रीसँगै एमालेका गोकर्ण विष्ट चुनावी प्रतिस्पर्धामा छन् ।
वर्षमान पुन:
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले रोल्पाबाट मतदान गरेका छन् ।
उनले रोल्पा नगरपालिका ७ बालउदय मावि माडिचौरबाट मतदान गरेका हुन् ।
रोल्पामा गठबन्धनको समर्थनमा वर्षमान पुन अनन्त र एमालेका पूर्ण बुढामगर प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन् ।

योगेश भट्टराई:
नेकपा एमालेका सचिव योगेश भट्टराईले ताप्लेजुङबाट मतदान गरेका छन् ।
ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका उनले मैवाखोला गाउँपालिका-३ साघुमा मतदान गरेका हुन् ।
ताप्लेजुङबाट भट्टराईसँग माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री ‘पराग’ मुख्य प्रतिस्पर्धी हुन् ।
प्रमुख निर्वाचन आयुक्त थपलिया:
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लोकन्थलीमा मतदान गरेका छन् ।
उनले लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी मतदान केन्द्रबाट मतदान गरेका हुन् । थपलियाले निर्धक्कसँग मतदान गर्न आममतदातालाई अपिल गरेका छन्।
कुलमान घिसिङ:
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रामेछापबाट मतदान गरेका छन् ।
उनले सुनापति गाउँपालिका वडा नम्बर ४ डहु मतदान केन्द्रबाट मतदान गरेका हुन् । कार्यकारी निर्देशक घिसिङले उक्त मतदान केन्द्रबाट पहिलो मतदान हुन् ।
प्रकाशमान सिंह:
नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले मतदान गरेका छन् । प्रकाशमानसँगै उनकी श्रीमतीले पनि मतदान गरेकी छन् ।
ईश्वर पोखरेल:
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मतदान गरेका छन् । काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पोखरेलले मतदान गरेका हुन् ।
गगन थापा:
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंको मैतीदेवीबाट मतदान गरेका छन् ।
काठमाडौं-४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका थापाले मैतिदेवी मतदान केन्द्रबाट बिहान मतदान गरेका हुन् ।
काठमाडौं-४ बाट थापासँग मुख्य प्रतिस्पर्धी एमालेका राजन भट्टराई रहेका छन् ।
भीम रावल:
नेकपा एमालेका नेता डा भीम रावलले अछामबाट मतदान गरेका छन् ।
उनले अछाम क्षेत्र नम्बर १ मा रहेको चन्दोदय आधारभूत विद्यालयबाट पहिलो मतदान गरेका हुन् । रावलले बिहान ७ बजेर २५ मिनेटमा मतदान गरेका हुन् । चिसो मौसम र दलका प्रतिनिधि आउन ढिलो हुँदा यहाँ मतदान प्रक्रिया केही ढिलो सुरु भएको थियो ।
रावलले देश र जनतालाई सम्झेर मतदान गरेको प्रतिक्रिया दिए । यहाँ एमालेबाट झपट बोहरा र गठबन्धनबाट एकीकृत समाजवादीका शेरबहादुर कुँवर प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।
डा. तोशिमा कार्की:
ललितपुर ३ मा मतदान गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोशिमा कार्की ।
कमल थापा:
राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतदान गरेका छन् । मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका उनले हेटौंडा–६ स्थित वंशगोपाल उच्च माध्यमिक विद्यालयस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
रामचन्द्र पौडेल:
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँबाट मतदान गरेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ-१ बाट उम्मेदवार रहेका उनले सत्यवति मतदान केन्द्रमा मतदान गरेका हुन् ।
मिलन पाण्डे:
विवेकशील साझा पार्टीका पूर्वसंयोजक मिलन पाण्डेले काठमाडौं क्षेत्र नम्बर ९ बाट मतदान गरेका छन् । उनले आज बिहान नवयुग मावि, ज्याबहालबाट मतदान गरेका हुन् ।
यहाँबाट पाण्डेसँगै सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी कल्पना धमला, एमालेका कृष्णगोपाल श्रेष्ठसहित २२ जना उम्मेदवार छन् ।
पृथ्वीसुब्बा गुरुङ:
नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लमजुङबाट मतदान गरेका छन् ।
उनले क्व्होलासोथर गाउँपालिका ९ गिलुङ्स्थित वुद्धोदय माविबाट मतदान गरेका हुन् । गुरुङ लमजुङबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार पनि हुन् ।
गिरिराजमणि पोखरेल:
माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेलले मतदान गरेका छन् ।
उनले महोत्तरी क्षेत्र नम्बर १ स्थित बर्दिबासको रजावासमा मतदान गरेका हुन् । उनी यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पनि छन् ।
देव गुरुङ:
लमजुङ जिल्लाबाट गठबन्धनको तर्फबाट प्रतिनिधि सभाका उमेदवार देव प्रसाद गुरुङले सुन्दरबजार नगरपालिका- ८ स्थित भारती सदन माध्यमिक विद्यालय मतदान केन्द्र (क) बाट मतदान गरेका छन् ।
गुरुङले आफ्नो मतदाता नामवली रहेको उक्त स्थानबाट विहान ७ः४५ मा मतदान गरेका हुन् । गुरुङ माओबादी केन्द्रका महासचिव हुन् ।
अर्जुनप्रसाद जोशी:
नेपाली कांग्रेसका नेता अर्जुनप्रसाद जोशीले मतदान गरेका छन् । पर्वत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका जोशीले नारायण उच्च मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
विष्णु पौडेल:
नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले बिहान साढे १० बजे मतदान गरेका छन् । बुटवल–८ मा रहेको डिभिजन सडक कार्यालय परिसरस्थित हेभी इक्वीपमेन्टमा रहेको मतदान केन्द्रमा पौडेलले मतदान गरेका हुन् ।
मतदानपछि प्रतिक्रिया दिंदै पौडेलले निर्वाचन लोकतन्त्रको उत्तम अभ्यास रहेको बताए । उनले यो निर्वाचनबाट एमालेले राम्रो नतीजा ल्याउने बताए । पौडेलले एमालेले हारे देशले हार्ने पनि बताए ।
विश्वप्रकाश शर्मा:
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गरेका छन् । आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदान प्रक्रिया उनी पनि सहभागी भएका हुन् ।
झापा–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका शर्माले मेचिनगर ९ स्थित कवि शिरोमणि माविमा रहेको केन्द्रबाट मतदान गरेका हुन् ।
परराष्ट्रमन्त्री नारायण खड्का:
परराष्ट्रमन्त्री डा नारायण खड्काले मतदान गरेका छन् । उदयपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ का उम्मेदवारसमेत रहेका खड्काले त्रियुगा नगरपालिका–८ स्थित रहेको जनता आधारभूत विद्यालय झोरा मतदान केन्द्रबाट मतदान गरेका हुन् । मतदान गर्दै उनले मतदानको लागि मतदाता उत्साहित भएको बताए । उदयपुरमा २ लाख २९ हजार मतदाता छन् ।
बाबुराम भट्टराई:
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी भएका छन् ।
उनले गोरखा पालुङटार नगरपालिका–१ अन्नपूर्ण मावि केन्द्रबाट मतदान गरेका हुन् ।

