
मन्त्री गिरिराजमणि पोखरेलले तत्काल शैक्षिक संस्था खोल्न नसकिने जनाएका छन्।
विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढिरहेको भन्दै तत्काल शैक्षिक संस्था खोल्न नसकिने उनले जनाएका हुन्।
निजी विद्यालयहरूले २१ जेठबाट शैक्षिक संस्था खोल्न दिनका लागि आग्रह गरेपछि मन्त्री पोखरेलले आज विज्ञप्ति जारी गर्दै भनेका छन्, “शैक्षिक संस्था पुनः सञ्चालन सम्बन्धमा नोबेल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सिफारिस र नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार मात्र शैक्षिक संस्था पुनः सञ्चालन हुने व्यहोरा पुनः एकपटक सबैमा स्मरण गराउन चाहन्छु।”
महामारीको स्थिति र अवस्था हेरी विद्यार्थीहरूको पठनपाठनलाई विभिन्न माध्यम प्रयोग गरी सञ्चालनमा राख्ने तथा स्थगन भएका परीक्षाहरू सञ्चालन गर्ने सम्बन्धमा आवश्यक र उपयुक्त निर्णय लिने गृहकार्यमा मन्त्रालय निरन्तर लागिरहेको समेत उनले बताएका छन्।
विद्यालय जाने उमेरका बालबालिकाको नियमित पठनपाठनको सहज अवस्था सिर्जना गर्नका लागि दूर तथा खुला शिक्षालगायत वैकल्पिक प्रणालीबाट सिकाइमा सहजीकरण गर्न मन्त्रालयबाट ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देशिका, २०७७’ जारी र उक्त निर्देशिका १ असारबाट कार्यान्वयन गर्न/गराउन संघ, प्रदेश र स्थानीय तहलाई उनले आह्वान गरेका छन्।
स्थगित गरिएका विद्यालय तहका परीक्षाहरूका विषयमा मन्त्रालयले उपयुक्त निर्णय लिने गृहकार्यमा लागिरहेको भन्दै विज्ञप्तिमा भनिएको छ, “उच्च शिक्षाको पठनपाठन र परीक्षाको सम्बन्धमा विश्वविद्यालय अनुदान आयोगको अध्यक्षको नेतृत्वमा एक कार्यदलले काम गरिरहेको विषय जानकारी गराउन चाहान्छु।”
निजी विद्यालयले सामुदायिक विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने बजेटमा उल्लेख गरिएको बुँदा मन्त्रालयबाट प्रस्ताव नगरिएको मन्त्रीको विज्ञप्तिमा उल्लेख छ।


