
इलाम क्षेत्र नम्बर २ मा पूर्वसभामुख एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले अग्रता लिएका छन् । कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई नेम्वाङले उछिनेपछि कडा प्रतिस्पर्धा देखिएको छ ।
मतगणनाको अन्तिम चरणमा पुग्नै लाग्दा खड्कालाई नेम्वाङले १ सय ३० मतको अन्तरले पछाडि पारेका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेम्वाङले २९ हजार १३५ मत पाएका छन् भने खड्का २९ हजार ५ मतसहित पछाडि छन् ।
मतगणना गर्न बाँकी दुई वटा वडाको अहिले मत गन्न सुरु गरिएको छ । इलाम नगरपालिकाको वडा नम्बर १ र २ को मत परिणामले दुई बीचको विजेताको टुंगो लाग्ने देखिएको छ ।
गत स्थानीय तहको निर्वाचनमा यी दुई वडामध्ये एउटामा कांग्रेस र अर्को वडामा एमालेले जितेको थियो । वडा नम्बर १ को अध्यक्षमा कांग्रेसका गायत्रीराम बस्नेत निर्वाचित भएका थिए भने वडा नम्बर २ मा एमालेका गिरीराज रिजाल विजयी भएका थिए । बस्नेतले एमालेका उम्मेदवार अम्बिका प्रसाद गौतमलाई पराजित गरेका थिए भने वडा नम्बर २ मा रिजालले कांग्रेसका विरेन्द्र राईलाई हराएका थिए ।
दुई वडामा एउटामा कांग्रेस र अर्कोमा एमाले बलियो रहेको हुँदा नेम्वाङ र खड्काबीच रोमाञ्चक र कठिन प्रतिस्पर्धा हुने देखिएको छ ।