
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विज्ञहरुसँग परामर्श गरेका छन् । प्रधानमन्त्री ओलीलाई विभिन्न क्षेत्रका विज्ञहरुले लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाव दिएका छन् ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन गरेपछि प्रधानमन्त्री ओलीले जनस्वास्थ्य र अर्थविदहरुसँग पहिलो पटक गरेको छलफल झण्डै चार घण्टा चलेको थियो ।
प्रधानमन्त्रीलाई विभिन्न क्षेत्रका झन्डै ३० जना विषय विज्ञहरूले आफ्नो सुझाव पेस गरेका थिए ।
बालुवाटारमा भएको छलफलमा विज्ञहरुले लकडाउन खुकुलो बनाउन सुझाव दिएका छन् । तर मोडालिटीबारे भने उहाँहरुले आआफ्नो तरिका सुझाउनु भएको छ’ छलफलमा सहभागी एकले भने ।
प्रधानमन्त्रीले अहिले विभिन्नथरी विचार आएको भन्दै लकडाउन खुकुलो पार्ने कि नपार्ने ? पार्ने हो भने कसरी पार्न सकिन्छ भनेर सुझाव लिएका थिए ।
यस्तै क्वारेन्टाइनको व्यवस्थापन कसरी गर्ने ? विदेशबाट आएका नेपालीलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा पनि प्रधानमन्त्रीले राय संकलन गरेका छन् ।
प्रधानमन्त्रीसँगको छलफलमा रहेका अधिकांश विज्ञहरुले लकडाउन खुकुलो बनाउन सुझाव दिएका छन् ।
विज्ञहरुले सुरक्षा विधि अपनाउँदै अत्यावश्यक सेवाका साथै अन्य खुद्रा पसल, निजी सवारी सधान सञ्चालन गर्न पनि सुझाव दिएका छन् ।
चिकित्सक तथा जनस्वास्थ्य विज्ञहरुले क्वारेन्टाइनको अवस्था सुधार गर्न, निजी अस्पतालमा पनि कोरोना परिक्षणको अनुमति दिन सुझाव दिएको डा. दीक्षितले जानकारी दिए ।
उनले भने,‘राज्यले पनि पर्याप्त परीक्षण नगर्ने, निजीलाई पनि नदिने हो भने समस्या जटिल भएर जान्छ । क्वारेन्टाइनहरुको अवस्था सुधार गरेर जानुपर्छ भनेर सुझाव दिएँ ।’
छलफलमा सहभागी अर्थविद्हरुले कोरोना संक्रमणका विच कसरी अर्थतन्त्रलाई चलायमान बनाएर जान सकिन्छ भनेर सुझाव दिएका थिए ।
प्रधानमन्त्रीले आफूले धेरै सुझाव पाएको भन्दै सुझावको फिल्टर गरेर आवश्यक छलफलपछि निर्णय गर्ने जानकारी गराएका छन् ।
अर्थविद्हरु रामेश्वर खनाल, पिताम्बर शर्मा, स्वर्णीम वाग्ले रअन्य ७ जना चिकित्सक लगायत झन्डै ३० जनाले प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् । पछिल्लो समय लकडाउनको विकल्प खोजिनु पर्ने भन्दै सरकारमाथि चौतर्फी दवाव बढ्दै आएको छ।