८ बैशाख २०८२, सोमबार

नेपाली कांग्रेसका नेता शेखर कोइराला संसदीय दलको नेतामा अघि बढे, गगनपनि भिड्ने

shekhar koirala gagan thapa

नेपाली कांग्रेसका नेता शेखर कोइराला संसदीय दलको नेतामा उठ्नेगरि तयारीमा जुटेका छन् । सो समूहबाट यसअघि नै महामन्त्री गगनकुमार थापाले दलको नेतामा उठने घोषणा गरिसकेका छन् । तर, कोइरालाले थापालाई सघाउनेबारे केही बोलेका थिएनन् ।

पछिल्लो समय आफूनिकट नेताहरुसँगको सघन छलफलपछि कोइराला दलको नेताको लागि आँफै मैदानमा उत्रिने तयारीका साथ अघि बढेका छन् । यता, थापाले भने आफूले दलको नेतामा उठ्ने भनेर चुनावअघि नै घोषणा गरेकोले कुनैपनि हालतमा ब्याक नहुने बताईसकेका छन् ।

संस्थापनइतर समूह भनेर चिनिने कोइराला थापा समूहबाट नै दलको नेतामा दुई जनाको उम्मेदवारी पर्ने निश्चित् भएपछि सो समूहका नेताहरु यतिवेला चिन्तामा छन् । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा उठ्ने छन् । देउवा दलको नेता बन्नेमा ढुक्क छन् ।

कोइराला पक्षका प्रभावशाली नेता तथा नवनिर्वाचित सांसद डा. चन्द्र भण्डारीले पनि दलको नेतामा देउवाले नै जित्ने घोषणा गरिसकेका छन् । अधिकांश सांसद देउवानिकट भएकोले पनि दलको नेता बन्न उनलाई सहज हुने अनुमान छ ।

कोइराला पक्षमा भने दलको नेतामा साझा उम्मेदवार पनि नहुने भएपछि अब यो समूह अस्तित्वमा रहनेबारे पनि प्रश्न उठ्न थालेको छ । योबीचमा थापाले कोइरालासँग एक्लाएक्लै भेटवार्ता गरेर दलको नेतामा आफूलाई सघाउन आग्रह गरेका थिए ।

तर, थापाको प्रस्तावबारे कोइरालाले कुनै जवाफ दिएका थिएनन् । कोइराला आँफैले भने अब थापासँग भेटेर सहयोग माग्ने तयारी गरेको स्रोतको दाबी छ ।