
नेपाली कांग्रेसले पुस ६ गतेभित्र संसदीय दलको नेताको चुनाव गरिसक्ने भएको छ । उसले आफ्नै नेतृत्वमा सरकार बनाउने औपचारिक निर्णयसमेत गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री चयनका लागि पुस १० सम्मको समयसीमा दिएकै दिन आइतबार कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने औपचारिक निर्णय गरेको हो ।
राजधानीमा आइतबार बसेको नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेता छनोट प्रक्रिया अघि बढाउन सहमहामन्त्री भीष्मराज आङदेम्बेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिका सदस्यमा पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही छन् ।
समितिले पुस ६ गते दलको नेताकोक निर्वाचन सक्ने गरी काम अगाडि बढाउने संयोजक आङदेम्बेले कान्तिपुर टेलिभिजनलाई प्रतिक्रिया दिए ।
कांग्रेसको संसदीय दलको विधानमा दलको नेताले नै सरकारको नेतृत्व गर्ने प्रावधान रहेका कारण सभापति देउवा आफैं सरकारको नेतृत्व गर्ने पक्षमा छन् । अर्कोतर्फ डा. शेखर कोइराला र गगन थापा संसदीय दलको नेतामा चुनाव लड्ने तयारीमा छन् ।
कांग्रेसमा संसदीय दलको नेता प्रधानमन्त्री बन्न पाउने विधान छ । यही कारणले संसदीय दलको नेता को बन्ने भन्नेमा प्रतिस्पर्धा छ । सभापति देउवासँग महामन्त्री गगन थापाले पनि संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने चुनावअघि नै घोषणा गरिसकेका छन् । रामचन्द्र पौडेल र प्रकाशमान सिंहले पनि संसदीय दलको नेता बन्ने चाहना राखेका छन् ।
आफ्नो नेतृत्वमा सरकार बनाउने कांग्रेसले औपचारिक निर्णय गरे पनि गठबन्धनको सहयात्री दल नेकपा माओवादी केन्द्रले पनि आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने अडान राखेको छ । कांग्रेस र माओवादीको आ-आफ्नै अडानका कारण सत्ता गठबन्धन सकसमा परेको छ ।
नेपाली कांग्रेस प्रधानमन्त्री र राष्ट्रपति दुवै आफैं लिन चाहन्छ । तर, माओवादीले प्रधानमन्त्री लिएर कांग्रेसलाई राष्ट्रपति दिने रणनीति बनाएको छ ।
शशांकले देउवालाई सघाउने
कांग्रेसका पूर्वमहामन्त्री एवं सांसद डा. शशांक कोइरालाले संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवालाई साथ दिने भएका छन् । संसदीय दलको नेता को बन्ने भन्नेबारे कांग्रेसभित्र रस्साकस्सी चलिरहेका बेला नेता कोइराला सभापति देउवाको पक्षमा खुलेका हुन् ।
कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा सहभागी बनेका डा. कोइरालाले आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो समर्थन सभापति देउवालाई रहेको प्रतिक्रिया दिए ।
यहीबीच, राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ को उपधारा २ अनुसार सात दिनभित्र प्रधानमन्त्रीको नाम पेस गर्न आइतबार औपचारिक आह्वान गरिसकेकी छन् ।
संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री चयन गर्न संसदीय दलको नेता अनिवार्य छैन, प्रतिनिधिसभा सदस्य मात्रै भए पुग्छ । तर, नेपाली कांग्रेसको संसदीय दलको विधानको दफा ७ को उपदफा १० अनुसार प्रधानमन्त्री बन्न संसदीय दलको नेता अनिवार्य छ । सो उपदफामा ‘पार्टीले सरकार गठन गरेका अवस्थामा नेताका हैसियतमा नेतृत्व प्रदान गर्ने’ भनिएको छ ।